दाङ : दाङमा सोमवार बैंकका ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर विधीबाट स्वाब परिक्षण गर्दा घोराही १५ हस्पिटल रोडमा रहेको लक्ष्मी बैकको एक्सटेन्सन काउण्टरका ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । घोराही १४ का २८ बर्षीय पुरुष र घोराही १५ का १५ बर्षीय पुरुष र २७ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।
उक्त काउण्टर बुधबारदेखि नै बन्द गरिएको बैंकका घोराही शाखा म्यानेजर पदम कुमार केसीले जानकारी दिए । कर्मचारीमा खोकी र ज्वरोको लक्षण देखिए पछि आशंकामा स्वाब परिक्षण गरिएको उनले बताए । यस अघि घोराहीमा रहेको कर्णाली बैंकका एक जना कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।