काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ बर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा काठमाडौंको कपुर धारास्थित आफ्नै निवासमा निधन भएको हो । घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङमा भएको थियो । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका उनी कुशल गीतकार पनि थिए ।
घिमिरेले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौं विधा) उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका थिए । प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उनका लेखाइहरु दीर्घसाधनाले भरिएका छन ।
घिमिरेले वि.सं .१९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाएका थिए । उनका कृति मध्ये नव मञ्जरी, गौरी (शोककाव्य) , मालती मङ्गले, (गीतिनाटक) , हिमालपारि हिमालवारी (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर, किन्नरी (गीतसङ्ग्रह) , चारु चर्चा (निबन्ध) , आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।