तुलसीपुर : तुलसीपुर नगर जेसीजले तुलसीपुर वडा नं. ८ र ९ का करिब २ दर्जन निम्म आर्थिक अवस्था भएका जेष्ठ तथा एकल महिलाहरुलाई आर्थिक तथा कपडा सहयोग गरेको छ । तुलसीपुर ८ दुधेना घर भई हाल अमेरिका बस्दै आएका सुवास भट्टराई र तुलसीपुरका समाजसेबी उत्तम कुमार श्रेष्ठले दिएको सहयोग उनीहरुलाई दिइएको जेसिसका अध्यक्ष मोहन सुनारले बताए ।
वडा नं. ८ र ९ का केही टोलमा बस्ने अति विपन्न परिवारका महिला दिदी बहिनीहरुलाई तिजको समयमा एक सरो नयाँ कपडा र एक छाक मिठो खानको लागी कपडा र नगद ५ सयका दरले २१ जनालाई सहयोग गरिएको उनले बताए । कोरोना महामारीको कारण लामो समय सम्म काम नहुदाँ आर्थिक अभाव भएको अवस्थामा उनीहरुलाई पनि केही सहज होस् भनेर आफुलाई समाजसेवीद्धारा प्रदान गरिएका कपडा र आर्थिक रकम दिएको अध्यक्ष सुनारले बताए ।
अध्यक्ष सुनारको अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष बेदबहादुर केसीको प्रमुख आतिथ्यमा उक्त सहयोग हस्तान्तरण गरिएको हो । सो अवसरमा सहयोगी सुबास भट्टराईका बुवा मिनराज भट्टराई, आमा मनकला भट्टराई, वडा सदस्यहरु पबित्रा काफ्ले, इन्द्रजित चौधरी लगाएतको विशेष उपस्थितिमा कार्यक्रम भएको हो । कार्यक्रम संयोजक नेत्रलाल भट्टराई (नारायण) को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तुलसीपुर नगर जेसिजका पूर्वध्यक्ष झरेन्द्र खरेल, सहयोग दाता मिनराज भट्टराईले बोलेका थिए । कार्यक्रम संयोजक महासचिव केसबराज केसीले गरेका थिए ।