दाङ : कोरोनाको जोखिमलाई मध्येनजर गरि दाङमा सोमबार साँझ ७ बजेदेखि विहान ५ बजेसम्म पूर्ण रुपमा बन्द गरिने भएको छ । संकट व्यबस्थापन केन्द्र दाङको साउन ३० गते बसेको बैठकले भदौ १ गतेदेखि ८ गतेसम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।
नजिकिदै गरेको चाडपर्वको समयमा बढि भिडभाड हुने हुँदा संक्रमणको जोखिम रहेको भन्दै त्यसलाई कम गर्न यस्तो निर्णय गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए ।
उनका अनुसार राति बजार, यातायात, हिँडडुलमा पूर्णरुपले बन्देज गरिने छ । नाँचगान, भेला, गोष्ठी, सेमिनार, कार्यक्रमलाई पूर्णरुपले रोक लगाउने, मठमन्दिरमा हुने दैनिक नृत्यकर्म बाहेक अन्य सबै खाले पूजा पाठलाई बन्दगर्ने, बजारमा अनिवार्य रुपमा स्वास्थ्य सामग्री प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, माइकिङ लगायतका कार्यहरु गर्ने, यातायात क्षेत्रलाई पनि व्यवस्थित रुपमा सञ्चालन गराउने निर्णय गरिएको उनले बताए ।