शरद रेग्मी
तुलसीपुर : स्वास्थ्य पहुचदेखि टाढा रहेका दाङका श्रमिक र मजदुरहरूलाई कोरोना संक्रमणबाट जोगाउन स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ । दाङको तुलसीपुरमा विभिन्न क्षेत्रमा श्रमिकको रूपमा काम गर्दै २ सय ५० जनालाई केएन नाइटी फाइभ मास्क, सेनिटाइजर र वर्किङ ग्लोब्स प्रदान गरिएको हो । युवाहरूको सामाजिक संस्था रोट्याक्ट क्लव तुलसीपुरको अगुवाई तथा रोटरी क्लवको सहभागितामा २ सय ५० श्रमिकलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको रोट्याक्ट तुलसीपुरका अध्यक्ष प्रमिस लामिछानेले जानकारी दिए ।
श्रमिकहरू सुरक्षित भएमा समुदाय र अन्य व्यक्तिहरू कोरोनाबाट सहजै सुरक्षित हुनसक्ने भएका कारण विभिन्न क्षेत्रमा मजदुरी गर्ने निम्नस्तरका श्रमिकहरूलाई स्वास्थ्य र सुरक्षा सामग्री सहयोग गरिएको अध्यक्ष लामिछानेले बताए । क्लवले रिक्सा मजदुर, ट्रान्सपोर्ट मजदुर, ज्यालादरी गर्ने मजदुर, पूर्वाधारमा काम गर्ने मजदुर र गाडीमा काम गर्ने मजदुरलाई कार्यस्थलमै पुगेर सहयोग गरेको हो ।
‘सामाजिक उत्तरदायित्व अन्तर्गत हामीले यो काम गरेका छौं’ अध्यक्ष लामिछानेले भने, ‘सहयोग मात्रै नभएर कोरोना सचेतना र जानकारी समेत गराइरहेका छौं ।’ सबै नागरिकले स्वास्थ्य सुरक्षामा ध्यान दिएमा मात्रै कोरोनाको जोखिमबाट बच्न सकिने हुँदा, स्वास्थ्य सुरक्षाको पहुँचमा पुग्न नसकेका मजदुरलाई यो सहयोग गरेको उनले बताए । यसअघि पनि क्लवले सामाजिक कार्यहरू गर्दै आएको छ ।