तुलसीपुर : तुलसीपुरमा दलित अधिकारकर्मीहरुले कालिकोटमा साउन २६ गते जातिय विभेदका कारण कुटपिट भएको घटनाको विरोध जनाएका छन् । शनिवार संयुक्त दलित युवा अभियानको आयोजनामा ‘‘जातिय विभेद तथा छुवाछुत अन्त्य गरौँ, समता र न्यायपूर्ण समाजको निर्माण गरौँ’’ जस्ता नारा लगाएर विरोध गरेका थिए ।
तुलसीपुरको मदनआश्रित चोकबाट शुरु भएको विरोध ¥यालीले तुलसीपुरका विभिन्न भागमा परिक्रमा गरि विपी चोकमा कोण सभामा परिणत भएको थियो । कोण सभा कार्यक्रममा बोल्ने दलित अधिकारकर्मीहरुले अझै पनि देशमा विभिन्न ठाउँमा जातको कारणले नै आफुहरुले अपहेलना पाउदै आएको बताएका थिए ।
उनीहरुले अझै पनि देशका विभिन्न ठाउँहरुमा दलितमाथी भएका अमानविय घटनाहरुले आफुहरुलाई दुखी बनाएको भन्दै अब त्यस्ता घटनाहरु घट्न नदिन र तत्काल दोषिलाई कानुनी कारबाही गर्न सरकारसंग माग गरेका थिए । कार्यक्रममा दलित नागरिक समाजका संयोजक छविलाल परियार, दलित अधिकारकर्मी राधिका परियार, अभियानका संयोजक खेमराज विश्वकर्मा लगाएतले बोलेका थिए । अभियानका सहसंयोजक शेर बहादुर परियारले कार्यक्रममा धन्यबाद मन्तव्य व्यक्त गरेका थिए , भने सहजीकरण सचिव उमेश परियारले गरेका थिए ।