दाङमा अधिकांश खोलामा क्रसर उद्योगहरू सञ्चालन

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ३१ गते शनिवार

दाङ :  दाङमा अधिकांश खोलामा क्रसर उद्योगहरू सञ्चालनमा रहेका छन् । जिल्ला अनुगमन तथा समन्वय समितिले अनुगमन गर्दा अधिकांश उद्योगहरू खोलामा नै सञ्चालनमा रहेको पाइएको छ । घरेलु तथा साना उद्योग कार्यालयमा ३२ वटा बालुवा वासिङ उद्योग दर्ता भएका छन् । त्यसैगरी १२ वटा क्रसर उद्योगहरू पनि दर्ता भएका छन् ।

त्यसमध्ये अधिकांश क्रसर उद्योग र बालुवा वासिङ उद्योगहरू खोलामै सञ्चालनमा छन् । खोला वा नदी किनारबाट पाँच सय किलोमिटर दूरी कायम गरेर उद्योगहरू सञ्चालन गरिनुपर्ने मापदण्ड छ तर अधिकांश उद्योगहरूले मापदण्ड पूरा गरेका छैनन् ।

जिल्ला अनुगमन तथा समन्वय समितिले जानकारी दिएको अनुसार दाङका अधिकांश क्रसर उद्योगहरू खोलामा छन् । समितिका उपप्रमुख श्रीधर पौडेलका अनुसार तुलसीपुर उपमहानगर–पालिका वडा नम्बर १८ मा रहेको स्वर्गद्वारी स्कर्न प्लान्ट, तुलसीपुर–७ मा रहेको न्यू राप्ती क्रसर उद्योग, तुलसीपुर–१९ को जनविश्वास कंक्रिट उद्योग प्रालि, तुलसीपुर–११ को गणेश बालुवा वासिङ उद्योग, तुलसीपुर–८ को राप्ती बालुवा वासिङ उद्योग खोलामा छन् ।

त्यसैगरी घोराही उपमहानगरपालिका–९ दिपचौरको शिवाज दाङ कंक्रिट उद्योग प्रालि, लमही–६ कसियापुरको पाण्डवेश्वर बालुवा वासिङ उद्योग, राजपुर गाउँपालिका–२ मटेरियाको सोमईथान एग्रिगेट एण्ड कन्स्ट्रक्सन, बबई गाउँपालिका–६ खिलतपुरको कर्पविज्ञा बालुवा वासिङ उद्योग पनि खोलामा रहेको समितिले जनाएको छ ।

त्यसैगरी गढवा गाउँपालिका–५ को मध्यपश्चिम क्रसर उद्योग प्रालि र पूर्णागिरी बालुवा प्रसोधन उद्योग प्रालि उद्योग खोलामा छन् । कुनै–कुनै क्रसर उद्योग र बालुवा वासिङ उद्योगहरू त झन खोला, वन, स्कुल, राजमार्ग, सहायक मार्गमै छन् ।

जिल्ला अनुगमन तथा समन्वय समितिले अनुगमन गरेर तयार पारेको विवरण अनुसार घोराही–९ दिपचौरमा रहेको शिवाज दाङ कंक्रिट उद्योग प्रालि, लमही–६ कसियापुरको पाण्डवेश्वर बालुवा वासिङ उद्योग, गढवा–५ को समृद्धि माईनिङ उद्योग एण्ड कन्स्ट्रक्सन, गढवा–५ को मध्यपश्चिम क्रसर उद्योग प्रालि उद्योगहरू खोलाको एक मिटर दूरीमा रहेर सञ्चालनमा छन् ।

गढवा गाउँपालिकामा सञ्चालनमा रहेका १२ वटा क्रसर तथा बालुवा वासिङ उद्योगहरू पनि खोलामा नै सञ्चालनमा छन् । तर जनताको तटबन्ध कार्यक्रम र बृहत सिंचाई आयोजना तटबन्धको कारणले सिधै खोलामा नभई मापदण्ड अनुसार खोलाको लम्बाई नपुगेको समितिका संयोजक पौडेलले जानकारी गराए । ‘हामीले अनुगमन गर्ने क्रममा उद्योगहरूको मापदण्ड परिक्षण गरेका थियौं’ उपप्रमुख पौडेलले भने ‘आधिकांश उद्योगहरू खोलामा नै छन् ।’

ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन तथा क्रसर तथा बालुवा वासिङ मेसिन सम्बन्धी मापदण्ड पनि निर्माण भएको छ । खोला वा नदी किनारबाट पाँचसय किलोमिटर दूरी कायम गरेर उद्योगहरू सञ्चालन गरिनुपर्ने मापदण्ड भएको जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीले बताए ।

त्यसैगरी क्रसर उद्योग सञ्चालनका लागि दूरीसम्बन्धी क्रसर उद्योग सञ्चालन गर्दा राजमार्गको राईट अफ वेबाट ५ सय मिटर दूरी कायम गरिनुपर्छ । त्यसैगरी शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, साँस्कृतिक, पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकायबाट २ किलोमिटर,

पक्की पुलबाट ५ सय मिटर, अन्तर्राष्ट्रिय सिमावाट २ किलोमिटर, वन, निकुञ्ज तथा आरक्षबाट २ किलोमिटर, घना बस्तीबाट २ किलोमिटर, हाईटेन्सन लाईनबाट २ सय किलोमिटर, ऐतिहासिक ताल, तलैया, जलाशय र पोखरीबाट ५ सय मिटर, चुरे पहाडको फेदीबाट १ हजार ५ सय मिटरको दूरी कायम गरिनुपर्ने कार्यविधि छ ।  यो समाचार सपना बोहराले प्रदेश टुडे राष्ट्रिय दैनिकमा लेखकी छन् । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार