नेकपाभित्रको विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ३० गते शुक्रवार

काठमाडौ :  सत्तारुढ नेकपामा विवाद समाधानका लागि सुझाव पेश गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटमा कार्यदल गठन गर्ने सहमति भएको हो । कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य छन् । कार्यदलमा पनि अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच भागवण्डा गरिएको छ । कार्यदलमा रहेका महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेल अध्यक्ष ओली पक्षका हुन् भने दाहाल पक्षबाट जनार्दन शर्मा र पम्फा भुषाल रहेका छन् ।

त्यसैगरी नेता नेपालको समुहबाट कार्यदलमा नेता भीम रावल र सुरेन्द्र पाण्डे छन् । कार्यदलको समयसीमा नतोकिएपनि जतिसक्दो सहमतिको प्रतिवेदन तयार गर्न कार्यदललाई निर्देशन दिएको बुझिएको छ । नेकपामा पार्टी विधानविपरित सरकार र पार्टी सञ्चालन भएको भन्दै अध्यक्ष तथा प्रधानमन्त्री ओलीको चर्को विरोध हुँदै आएको थियो । त्यसक्रममा ओलीले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिनुपर्ने भन्दै दाहाल र नेपाल पक्षले चर्को दबाब दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार