सुशील बस्नेत
दाङ, ३० साउन : दाङका बिद्यालयमा सञ्चालन गरिएका क्वारेन्टाईनका लागि नेपाल रेडक्रसले सहयोग गरेको छ । क्वारेन्टाईनमा बस्ने ब्यक्तिहरुका लागि खुट्टाको प्रयोगले हात धुने बेसिन र सेनिटाईजर,सफा पिउने पानीको फिल्टर (पियुरीफायर) र सौचालयको लागि युनिसेफको सहकार्यममा नेपाल रेडक्रसले ३ वटा बिद्यालयमा बनाएका छन् । माध्यामिक बिद्यालय तुलसीपुर सेन्टरमा २ लाख ५० हजार मूल्यका खुट्टाको प्रयोगले हात धुने बेसिन र सेनिटाईजर सहयोग गरिएको नेपाल रेडक्रस सोसाईटी कोभिड –१९ कार्यक्रमका प्रदेश नम्वर ५ का फोकल पर्सन बिश्राम अधिकारीले जानकारी दिए ।
उनका अनुसार अमर माध्यामिक बिद्यालय कालाखोला पर्सेनीमा महिला सौचालय निर्माण गरिदैछ । क्वारेन्टाईनमा बसेका महिलाहरुले प्रयोग गर्ने उदेश्यले बनाउन लागिएको सौचालय कोरोना भाईरस संक्रमणको अबस्था सामान्य भई बिद्यालय सञ्चालन भएमा छात्राहरुले प्रयोग गर्ने प्रधानाध्यापक राजीव ओझाले बताए । २ लाख ३३ हजार रुपैयामा सौचालय र पिउने पानी संरचनाको काम भईरहेको छ । उक्त बिद्यालयमा ७ सय ४३ जना बिद्यार्थी मध्ये छात्राको संख्या साँढे ४ सय छन् ।
जनता संस्कृत बिद्यालय बिजौरीमा प्रति घण्टा १ सय लिटर सफा पिउने पानीको फिल्टर (पियुरीफायर) जडान गरिएको बिद्यालयका शिक्षक टीकाराम पौड्ेलले बताए । २ लाख ३६ हजार मूल्यको २ हजार लिटरको टंयाकीमा उक्त मेसीन जडान गरिएको छ । बिद्यालयमा ५ सय ५० जना छात्रा र ४ सय ५० जना छात्र रहेका छन् । यी तिन वटा बिद्यालय मध्ये माध्यामिक बिद्यालय तुलसीपुर सेन्टरमा सञ्चालन गरिएको क्वारेन्टाईनमा करिव ७० जना ब्यक्तिलाई राखिएको तुलसीपुुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका स्वास्थ्य निरिक्षक बिमल केसीले बताए । त्यस बाहेक अमर मा.बि.कालाखोला र जनता संस्कृत माबि बिजौरीको क्यारेन्टाईन खालि छन् ।
मा.बि.तुलसीपुर सेन्टर बजार क्षेत्र भित्रको क्वारेन्टाईन र सुबिधा सम्पन्न भएकाले पनि ब्यबस्थीत ढंगले सञ्चालन गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले प्रहरी हवल्दार गोपाल गौतमको नेतृत्वमा २ जना प्रहरी खटाएको छ । जेठ १० गतेदेखि यो क्वारेन्टाईनमा खटिएको प्रहरी हवल्दार गौतमले बताए ।
क्वारेन्टाईन बजार छेँउमा भएकाले पनि यहाँ बस्नेले बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाबाट सहयोग प्राप्त भईरहेको क्वारेन्टाईनमा बसेका ब्यक्तिहरुले बताउँछन् । क्वारेन्टाईनको लागि संस्थागत सहयोग त हुन्छ । सरकारी तथा नेपाल रेडक्रस लगायत अन्य गैरसरकारी संघ संस्थाहरुले सहयोग गर्ने गरेको यहाँ बस्ने ब्यक्तिहरुले बताएका छन् ।