दाङ : दाङमा कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै भदौ १ गतेदेखि ८ गते सम्म राती पूर्णरुपले बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा शुक्रवार बसेको संकट व्यवस्थापन केन्द्रको वैठकले यही भदौ १ गतेदेखि ८ गतेसम्म साँझ ७ बजेदेखि विहान ५ बजेसम्मका लागि निशेषज्ञा जारी गरेको छ । वैठकले रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षत्तामा गाउँपालिका प्रमुखहरु, सुरक्षा निकायमा प्रमुखहरु, विषयगत
कार्यालयहरु, उद्योग वाणिज्य संघ, च्याम्वर, नेपाल पत्रकार महासंघ लगाएतको उपस्थितिमा बसेको वैठकले चाडपर्वको नाममा समाजमा बढि रहेको भिडभाडलाई कम गर्नका लागि जतिसुकै समयमा हुने नाँचगान, भेला, गोष्ठी, सेमिनार, कार्यक्रमलाई पूर्णरुपले रोक लगाउने, मठमन्दिरमा हुने दैनिक नृत्यकर्म बाहेक अन्य सबै खाले पूजापाठलाई बन्द गर्ने निर्णय गरेको छ । वैठकले बजारलाई व्यवस्थित गर्न अनिवार्यरुपमा स्वास्थ्य सामग्री प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, माइकिङ लगाएतका कार्यहरु गर्ने, यातायात क्षेत्रलाई पनि
व्यवस्थितरुपमा सञ्चालन गराउने निर्णय गरेको छ । वैठकले जिल्लामा सबै खाले गतिविधिलाई अनुगमन गर्नका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, च्याम्वर, नेपाल पत्रकार महासंघ, स्वास्थ्य कार्यालय, स्थानीय तहहरु सहितको जिल्ला अनुगमन समिति गठन गरेको वैठकमा सहभागि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले जानकारी दिए । त्यसैगरी प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले दाङलाई कोेरोना मुक्त राख्नका लागि राती पूर्णरुपले बन्देज र दिउँसो नियन्त्रण मूखी उपाएको खोजि गरिएको बताए ।