तुलसीपुर : दाङको बबई गाउँपालिका र शान्तिनगर गाउँपालिकामा गरी थप ४ जनाको कोरोना पुष्टि भएको छ । बबई गाउँपालिकामा ३ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल बाँके नेपालगन्जमा गरिएको परिक्षणमा बबई ४ का २६ र ३३ बर्षीय पुरुष र वडा नं. ७ की ३० बर्षीय महिलामा कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि बहादुर खड्काले जानकारी दिए ।
उनीहरु भारत तथा त्रेसो मुलकबाट आएर क्वारेन्टाइनमा बसेका हुन् त्यसैगरी आज नै गाउँपालिकामा समुदायस्तरमा स्वाब संकलन गरिएको समेत उनले बताए । ब्यापारी, सुरक्षाकर्मी, बैंक तथा वित्तिय संस्थामा कर्मचारी, गाउँपालिकाका कर्मचारी लगाएत ५७ जनाको र क्वारेन्टाइनमा बसेका २१ जनाको स्वाब संकलन गरिएको उनले बताए ।
त्यसैगरी शान्तिनगर गाउँपालिका २ का ९ बर्षीय बालकमा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परिक्षण गर्दा कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि पुनले जानकारी दिए । गाउँपालिकाले २४ जनाको कोरोना परिक्षणको लागी स्वाब पठाएकोमा २३ जनाको नेगेटिभ आएको छ । उनी भारतबाट आएका थिए । उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डीमा पठाइएको समेत संयोजक पुनले बताए ।