तुलसीपुर : नेपाल राहत शिक्षक नगर कार्यसमिति तुलसीपुरले राहत शिक्षकका विभिन्न मागहरु राख्दै तुलसीपुर उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । कार्यसमितिका अध्यक्ष मेघराज घिमिरे र सचिव एकराज भण्डारी सहितको टोलिले सोमवार तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख भास्कर गौतम तथा नगर शिक्षा सम्योजक देवराज विश्वकर्मालाई ध्यानकर्षणपत्र बुझाएको हो ।
ध्यानाकर्षणपत्रमा तुलसीपुर क्षेत्रका सम्पुर्ण प्रधानाध्यापकको मोबाइलमा सर्कुलर गरी राहत करार शिक्षक, विद्यालय कर्मचारी, सहयोगी कार्यकर्ता तथा कार्यालय सहयोगीको म्यादथप विद्यालय व्यवस्थापन समितिबाट गराई सोको जानकारी भदौ २ गते सम्म दिने भन्ने सूचनाप्रति असहमति जनाइएको छ । त्यस्तै राहत शिक्षकलाई कनिष्ठ नभनी नियुक्तिका आधारमा पायकपर्ने स्थानमा मात्र दरवन्दी मिलान गर्न पनि ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।
साथै राहत शिक्षकलाई पनि योग्यताका आधारमा स्थाई सरह प्रअ नियुक्ति गरिनुपर्ने, राहत शिक्षकलाई पनि हौस्याउनका लागि स्थानीय तहबाट सञ्चयकोषको व्यवस्थापन हुनुपर्ने कुरामा पनि ध्यानाकर्षण गराइएको छ । साथै कोभिड-१९ को संक्रमणले निम्त्याएको महामारीमा पनि तुलसीपुरमा कार्यरत राहत शिक्षक समुदायस्तरमै गएर सिकाइका काम पििन गरिरहेको स्मरण गराउंदै त्यस्ता शिक्षकको पिसिआर परीक्षण गर्न पनि माग गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख भास्कर गौतम र शिक्षा संयोजक देवराज बिश्वकर्मालाई ज्ञापन पत्र बुझाएका हुन् ।
त्यस अवसरमा अहिले देशैभर राहत शिक्षकहरुको म्याद थपको प्राबधान भएकाले सम्पुर्ण राहत शिक्षक, बिद्यालय कर्मचारी एवं सहयोगी कार्यकर्ताहरुको ब्यक्तिगत विवरण फाइल खडा गरि नियुक्ति पत्र , नियुक्ति समर्थन पत्र भए सो पत्र, शैक्षिक योग्यताका प्रमाणपत्र, अध्यापन अनुमती पत्र,नागरिकताको प्रमाणपत्रको प्रतिलिपि बुझाइ विवरण अध्याबधिक गर्न सहयोग गर्ने सहमति समेत भएको छ ।
समितिले राखेका यी मागहरुका विषयमा आफुहरु गम्भीर बन्ने संयोजक विश्वकर्माले बताए ।