तिर्थराज ज्ञवाली
देउखुरी दाङ : राप्ती गाउँपालिकाको यस आर्थिक वर्ष २०७७/७८ को पहिलो कार्यपालिका बैठकले गत वर्षमा भए गरेका कमि कमजोरीलाई आगामी दिनमा नहुने गरी काम कार्वाही गर्न कार्यालयलाई निर्देशन गरेको छ । गत जिल्ला समन्वय समितिको चौथो सभामा दाङ जिल्लाका पालिकाहरु विच भएको कार्यसम्पादन प्रक्रियाबाट दोस्रो स्थानमा आएकोमा आगामी दिनमा थप कार्यजोसका साथ नागरिकको सेवामा समर्पित भएर कार्य सम्पादन गर्ने सम्वन्धमा छलफल गरिएको छ ।
गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको कार्यपालिका बैठकले गत वर्षको पुरक बजेट पारित गर्ने निर्णय गर्दै थप ६ प्रस्तावमा छलफल गरि निर्णय गरेको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए । बैठकमा प्रस्तावहरुका विषयमा प्रस्टाउदै सदस्य सचिव तथा प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले गाउँपालिकाकोे बातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्ने सम्वन्धमा बनेको विधेयक २०७७ र राप्ती गाउँपालिकाको संक्षिप्त बातावरणीय अध्ययन तथा प्रारम्भिक बातावरणिय कार्यविधि २०७७ को मस्यौदा माथि प्रकाश पारेका थिए ।
बैठकबाट बसन्तापुरमा निर्माणधिन कृषि उद्योग, घ वर्गको निर्माण ईजाजत पत्र, आर्थिक वर्षको दररेट, घर अभिलेखीकरण लगाएतका विषयमा निर्णय गरिएको छ । साथै बैठकमा पछिल्लो कोरना संक्रमणको अवस्था र सावधानीको बारेमा समेत छलफल गरिएको छ ।