ओली-प्रचण्ड विच आज करिव २ घण्टा छलफल , विना निष्कर्ष सकियो

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १९ गते सोमवार

काठमाडौँ  : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधानका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आजको छलफल पनि निष्कर्षविहिन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा वरिष्ठ नेता झलनाथ खनाल र नेता सुवास नेम्वाङसमेत सहभागी भएको करिव २ घण्टाको वार्ता विना निष्कर्ष सकिएको हो ।

जनैपूर्णिमाको शुभकामना आदान प्रदान गर्दै प्रारम्भ भएको नेताद्वयको छलफल पूरानै अडानमा पुगेर टुंगिएको छ । बैठकमा प्रचण्डले ओलीलाई नेताहरूको व्यवस्थापनका लागि र सरकार एवं पार्टीको काम प्रभावकारी बनाउन निकास दिन आग्रह गरेकोमा ओलीले महाधिवेशनअघि सरकार र पार्टीको नेतृत्व नछाड्ने आफ्नो पूरानै अडान दोहोर्‍याएको बताइएको छ ।

तर, प्रचण्डलेचाँही कम्तिमा एक पद छाड्न दबाब दिएका छन् । यसबाहेक पछिल्लो चर्चामा आएको ओलीलाई सर्बोच्च नेता र प्रचण्डलाई एकल अध्यक्षको विषयसमेत छलफल भएको तर, त्यसमा ठोस कुरा अघि नबढेको बुझिएको छ ।

छलफल निचोडमा नपुगेपछि मंगलबार पनि छलफल गर्ने समझदारीपछि प्रचण्ड बालुवाटारबाट बाहिरिएका थिए । साउन १३ को स्थायी कमिटी बैठक ओलीले एकपक्षीय रूपमा स्थगित गरेपछि संवादहिनको अवस्थामा पुगेका ओली र दाहालबीच आइतबार पनि तीन घण्टा वार्ता भएको थियो । नेकपाको स्थायी कमिटी बैठक असार १० देखि सुरू भए पनि एजेण्डामा छलफल नै नभइ भाँडिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार