दाङ, १९ साउन । आज श्रावण शुक्लपूर्णिमा । आजको दिनलाई हिन्दू धर्मालम्बीहरूले विशेष महत्वका साथ हेरिने दिन हो । आजका दिनलाई जनैपूर्णिमा, रक्षा बन्धन भनेर चिनिने गरिन्छ । हरेक चाडवाडको आ–आफ्नै महत्व र सन्दर्भ हुन्छ ।
जस्तैः कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षेत्रीय पुरूषहरूले हिन्दू परम्पराअनुसार यज्ञोपवित अर्थात् जनै लगाउने चलन रहिआएको छ ।
बाल्यकाल पश्चात् विधिपूर्वक ब्रतबन्ध कर्म सम्पन्न गरी गुरू पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।
यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै–बेग्लै गाँठो पारीसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रूपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ ।
जनैमा रहने दुईवटा शिखाका छ वटा घागो डोरामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्काे शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ । आजको दिनलाई नेपाल भाषामा गुंपुन्हि पनि भनिन्छ । नेवार समुदायले आजको दिनलाई गुंला महिनाको पुन्हि अर्थात् गुंपुन्हि भनेर मनाउँछन् ।
रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाईलाई माला उनेर लगाई दिने अथवा पुच्छरमा बेरीदिने चलन पनि छ । हिन्दू परम्परा अनुसार यसो गर्दा पूण्य प्राप्त हुने विश्वास रहि आएको छ । कतिपयले आफै गुरू पुरोहित कहाँ गई या मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् । यसै दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइका दाहिने हातका नाडीमा दीर्घायु र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ ।
नेपालको तराई क्षेत्र लगायत भारत, बङ्गलादेशलगायतका देशहरूमा राखीको चलन र यस चाडको महत्व एकदमै बढी रहेको छ । आजको दिन ज्वाइँ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमाडाँैको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाँईकुण्ड, जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरूमा मेला पनि लाग्दै आएको छ । विशेषतः ब्राह्मण, क्षत्रीय या अन्य कुनै बैदिक धर्म पालन गर्ने समुदायमा ब्राह्मण पुरोहितसँग हातको नाडीमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरिएको छ ।