काठमाडौं, १७ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले विचार अनुरुपको नेतृत्व निर्माणमा दृढतापूर्वक अघि बढ्न आग्रह गरेका छन् । बकर इद्को अवसरमा शुभकामना दिँदै उनले नेपाली जनताले नयाँ विचारको विकासका आधारमा मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो अभिमत प्रकट गरेको बताएका छन् ।
उनले भने, ‘पुरानो सोच र संस्कृतिको अन्त्य गर्दै नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो ।’ नेपालको संविधानमा नेपाल बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको उल्लेखले पनि देशको बहुसांस्कृतिक पक्षलाई आत्मसात गरेको छ ।
अध्यक्ष प्रचण्डले समाजमा विकसित भएका सामाजिक मूल्य मान्यता, परम्परा, संस्कृति, उत्पादन सम्बन्ध, प्रविधि लगायतको भौतिक तथा अभौतिक पक्षको समुच्च रुप नै संस्कृति भएको बताएका छन् ।