• २०७७ कार्तिक ६ गते बिहिवार

तुलसीपुर उद्योग वाणिज्य संघमा तीन ‘श’लाई सम्मान

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २६ गते सोमवार

शरद रेग्मी
तुलसीपुर, २६ साउन :  तुलसीपुर उद्योग वाणिज्य संघले हालै नियुक्त भएका तीन ‘श’लाई सम्मान गरेको छ । संघले हालै मनोनित प्रदेशसभा सदस्य शंकर प्रसाद गिरी, भुमि सम्बन्धी समस्या समाधान आयोगमा नवनियुक्त केन्द्रिय सदस्य शोभाराम बस्नेत र नेपाली कांग्रेसको यातायात विभागमा केन्द्रिय सदस्यमा नियुक्त शुरेश हमाललाई संयुक्त रुपमा सम्मान गरेको हो । संघका अध्यक्ष वीर वहादुर रावतको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा बोल्दै तीनै व्यक्तित्वले दाङको विकासको साझा मुद्धालाई राजनितिक आंखाले मात्र नहेरेर समझदारी र सहकार्यमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै उनीहरुले तुलसीपुर खानेपानी तथा बाणिज्य संघमा पनि निर्विरोध रुपमा साझा नेतृत्व खोज्नुपर्ने पनि बताएका थिए ।

सम्मान कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य शंकर प्रसाद गिरीले आफुले दाङ लगायत ५ नंवर प्रदेशका जनताबाट पाएको समानुपातीक मतको सम्मान गर्दै दाङको विकाशमा सधै प्रतिवद्ध रहने बताए । वर्तमान अवस्थामा कोभिड—१९ को विश्वव्यापी संक्रमणले नेपाललाई पनि त्रसित बनाउंदै आएको अवस्थामा आम नागरीकको स्वास्थ्य उपचार तथा संक्रमणबाट जोगाउने सवालमा प्रदेशसभामा जोडदार आवाज उठाउने पनि बताए । यो विषम परीस्थीतिमा पक्षप्रतिपक्षनै नभनेर लाग्नुपर्ने अवस्था आएको पनि उनको अभिव्यक्ति थियो ।

एक अर्को प्रसंगमा प्रदेशसभा सदस्य गिरीले सरकार आफ्नै अन्तरकलहमा गुज्रिरहेकाले मुलुक गम्भीर रुपमा असहज परीस्थीतिमा मोडिन थालेको भन्दै सरकारलाई जनमतको सम्मान गर्न पनि सुझाव दिए । प्रदेशको समानुपातिक विकासमा आफुले आवाज उठाइरहने भन्दै विकासको साझा मुद्धालाई आफुले सधै प्रार्थमिकतामा राख्ने बताए । ‘मलाई थाहा छ, प्रदेश ५ को स्थायी राजधानी र नामाकरण समेत तोकिएको छैन, तर हरेक हिसावले दाङलाई प्रदेशको राजधानी बनाउनुपर्छ, अव प्रादेशिक राजधानीको रथ पश्चिमतर्फ लागी सक्यो’—प्रदेशसभा सदस्य गिरीले भने ।

सम्मान कार्यक्रममा भुमि संबन्धि समस्या समाधान आयोगका केन्द्रिय सदस्य शोभाराम बस्नेतले अव्यवस्थीत बसोबास रहेका जिल्लाका सवै भुभागमा भुमिहिनहरुको वास्तबिक लगत लिन थालेको बताउंदै संघिय संसदले भुमिहिन सम्बन्धी विधेयक पारीत गर्नासाथ आफुले पनि जिल्लामा काम थाल्ने बताए । आफुले लामो समयसम्म राजनितिमा समय खर्च गरेको बताउंदै उनले जिल्लामा व्यवस्थीत बसोबासको अवधारणालाई कार्यन्वयन गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । उनले तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका र दंगीशरण गाउँपालिकामा ऐलानी जग्गा भोगचलनको तथ्यांक लिनकालागी स्थानिय पालिकालाई आग्रह गरीसकेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसको केन्द्रिय यातायात विभागमा नवनियुक्त केन्द्रिय सदस्य शुरेश हमालले आफ्नो यातायात क्षेत्रमा क्रियाशिल लामो समयसम्मको अनुभवलाई पार्र्टीले उच्च मुल्यांकन गरेकोमा केन्द्रिय समितिलाई धन्यवाद व्यक्त गरे । सम्मान कार्यक्रममा उनले सार्वजनिक यातायात क्षेत्र धरासायी भएको अवस्थामा यसलाई सुधार्न पार्टी आफुलाई सुम्पेको जिम्मेवारीलाई कहि कतै पनि विचलित नभएर निर्वाह गर्ने बताए । सार्वजनिक यातायात क्षेत्रलाई चलायमान गराउन र यातायात व्यवसायीका समग्र समस्यामा सरकार जिम्मेवारी पुर्वक नलागीरहेको अवस्थामा कांग्रेसले यातायात क्षेत्र सुधारका सन्दर्भमा आफुलाइ तोकेको जिम्मेवारी पुरा गर्न आफु प्रतिवद्ध भएर लाग्ने बताए ।

स्वागत तथा सम्मान कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल, प्रेस सल्लाहकार शरद रेग्मी लगायतले सम्मान मन्तव्य व्यक्त गरेका थिए । संघका महासचिव रुप वहादुर खत्रीले सहजीकरण गरेको स्वागत तथा सम्मान कार्यक्रममा उपाध्यक्ष रामप्रसाद चालिसेले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार