इन्धन डिपोको विषय पटक–पटक चर्चा मात्रै

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २० गते मङ्गलवार

दाङ : दाङको टरिगाउँ एयरपोर्टमा इन्धन डिपो स्थापनाका लागि अन्तिम तयारी भएको र तत्कालको व्यवस्थापनको लागि ब्राउजर आउनै लागेको भन्ने दुईपटक हल्ला भयो । एक पटक त आज तुलसीपुरको लागि हवाई इन्धन ब्यवस्थापन गर्न ब्राउजर हिडिसक्यो नियो । ब्राउजर हिडेको दुई वर्ष भयो अहिलेसम्म एयरपोर्टमा आइपुगेको छैन ।

केही दिन पहिले टरिगाउँमा इन्धन डिपो स्थापनाका लागि ठेक्का प्रक्रिया पूरा भई सम्झौतासमेत भएको हल्लाले केही दिन ततायो । यो विषय पनि हिडिसकेको ब्राउजरको कहानीजस्तै भयो । बाहिर जति हल्ला भए पनि यो विषयमा निगममा अहिलेसम्म न त ठेक्का प्रक्रियाको कुरा अघि बढेको छ न त एक रूपैयाँ बजेट नै छुट्याइएको छ ।

तर ‘अप्रिल फुल’ जस्तै गरेर इन्धन डिपोको विषयले पटक–पटक चर्चा मात्रै पाउँछ । बर्षाै हुँदा पनि हल्ला यथार्थमा परिणत भएको छैन । तुलसीपुरको टरिगाउँ एयरपोर्टमा हवाई इन्धनको व्यवस्थापनमा लागि सुरूदेखि प्रयासका हल्लाहरू भएपनि एयरपोर्ट स्थापना भएको ६६ वर्षसम्म पनि हल्लै–हल्लाकै रूपमा सीमित देखिएका छन् । दाङको टरिगाउँमा रहेको पुरानो एयरपोर्टमा हवाई इन्धन सहज गराउने गरी विगतदेखि प्रयास भइरहेका भने छन् । तर निगमले त्यसलाई पूर्णता दिन सकेको छैन । वडा अध्यक्षदेखि मन्त्री, प्रधानमन्त्रीसम्मले आश्वासन बाँड्ने थलोको रूपमा अहिले एयरपोर्टको इन्धन डिपो रहेको छ । एयरपोर्टको नियमित सञ्चालन भएसँगै इन्धन डिपोको आवश्यक अत्यधिक छ ।

नियमित हवाई सेवापछि नेपाल आयल निगमले तत्कालको अवस्थालाई मध्यजगर गर्दै ब्राउजरको व्यवस्था गर्न लागेको तर त्यसको आधिकारिक निर्णय र प्रक्रिया सुरू भने नभएको जनाएको । नेपाल आयल निगम दाङका प्रमुख सुजित पोख्रेलले आजका मितिसम्म इन्धन डिपो, ब्राउजर स्थापना लगायतका कुनै पनि निर्णय नभएको बताए । ‘योजना रहेको छ, तर त्यो योजना निर्णायार्थ प्रस्तुत भएको छैन’ उनले भने

‘अहिलेकै अवस्थामा इन्धन डिपोको नाममा आएका कुराहरू सबै गलत हल्ला हुन् । उनले भने ‘विभागमा यो विषयमा बहस चलेको छ, यो दसँैसम्ममा ब्राउजरसम्म भए पनि राख्ने कि भन्ने छ, तर टेण्डर नै भएको अवस्था भने हैन र छैन पनि ।’ नेपाल आयल निगम नेपालगञ्जका प्रमुख नवविनोद पोख्रेलले हवाई इन्धनको व्यवस्थापनमा लागि तुलसीपुरमा ब्राउजर राख्ने तयारी भएको बताए । उनले त्यसको पूर्वाधार निर्माणका लागि तयारीमा समेत जुटेका बताए ।

तुलसीपुरमा उपमहानगर–पालिका वडा नम्वर १२ मा रहेको टरिगाउँ विमानस्थलमा स्थापना भएको ६६ वर्ष भएको छ । तुलसीपुर विमानस्थलमा दैनिक दुईवटा उडान सेवा सञ्चालनमा आएको भएपनि इन्धन डिपो नहुँदा यहाँका यात्रुहरूले चर्को भाडा तिर्दै आएका थिए । इन्धनको अभावमा पूर्ण क्षमताका यात्रु बोक्न नसक्दा भाडा बढी लिनुपरेको नेपाल वायुसेवा निगमले बताएको छ । तुलसीपुर उपमहानगर–पालिकाका नगरप्रमुख घनश्याम पाण्डेले इन्धन डिपो स्थापनाका लागि प्रयास भइरहेको बताए ।

उनले निगमले आउँदो दसैँसम्ममा तुलसीपुरमा हवाई इन्धनको व्यवस्था गर्ने प्रतिवद्धता जनाएको बताए । ‘उहाँहरू दाङमै पनि आएर बोल्नुभएको छ, पटक–पटकको भेटमा पनि यो कुरा भएको छ’ प्रमुख पाण्डेले भने, ‘अहिलेको प्रतिवद्धता अनुसार हामीले दसैँसम्ममा ब्राउजर आउने विश्वास गर्ने आधारहरू केही रहेका छन् ।  यो समाचार प्रदेश टुडे राष्ट्रिय दैनिकमा छापिएको छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार