• २०७७ कार्तिक ६ गते बिहिवार

आज २१ औं मुक्त कमैया दिवस , अझै मुक्त कमैयाहरुको पुर्नस्थापना हुन सकेन

Author Logo..
२०७७ साउन २ गते शुक्रवार

दाङ : दाङसहित पश्चिम नेपालका जिल्लामा विभिन्न जिल्लामा शुक्रबार २१ औं मुक्त कमैया दिवस मनाईएको छ । २०५७ साल साउन २ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले कमैया मुक्त घोषणा गरेको थियो । दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका ३२ हजार ५ सय ९ घर मुक्त कमैयाहरु मुक्त घोषणा भएका थिए । सोही दिनको सम्झनामा हरेक वर्ष साउन २ गते मुक्ती दिवस मनाउने गरिएको छ। ४ तहमा विभाजन गरेर मुक्त घोषणा गरिएका कमैयाहरु अहिलेसम्म पनि पूर्ण रुपमा पुनःस्थापना हुन सकेका छैनन् । पहेँलो र सेतोलाई कार्ड प्राप्त गरेका मुक्त कमैयाहरुलाई राज्लेले हेरेकै छैन ।


पुनःस्थापना गर्दै राज्यले ५ कठ्ठा जमिन, घर निर्माणको लागि रकम र काठ लगायतको सुविधा दिएको थियो ।सरकारले कमैया मुक्तीको घोषणा गरेपनी अझै मुक्त कमैयाहरुको पुर्नस्थापना हुन सकेको छैन । ऐलानी जग्गा, वन क्षेत्र, खोलाको किनारमा मुक्त कमैया बस्दै आएका छन् । जग्गाको लालपुर्जा प्राप्त हुन सकेको छैन । भूमिसुधार कार्यालय मार्फत हरेक वर्ष मुक्त कमैया पुर्नस्थापनाको लागी बजेट प्राप्त हुने गरे पनि त्यो बजेट प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा फिर्ता जाने गरेको छ।

त्यसैगरी मुक्त कमैया समाज दाङले लमहीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रदेश ५का प्रदेशसभा सदस्य रेवतीरमण शर्माले भूमिको समस्या समाधान गर्न सरकारले कदम चालेको बताए । उनले मुक्त कमैया, भूमिहीन, सुकुम्बासीको समस्या समाधान गर्न सरकारले व्यवस्थित बसोवासको कार्यक्रम अघि सारेको बताए । जो जहाँ बसिरहेको छ । त्यहीँ ठाउँमा एक पटकलाई पुर्जा दिनेगरी काम भईरहेको उनले बताए ।

उनले बसोवासको आधारमा पुर्जा दिनुपर्छ भनेर केन्द्रमा काम भैरहेको समेत बताए । यस्तै अर्का प्रदेश सभा सदस्य इन्द्रजित थारुले मुक्त कमैया, भूमिहीन, सुकुम्बासीको समस्या समाधान गर्न पुरानो भूमि नीति खारेज गरेर नयाँ भूमिनीति कार्यान्वयन गरिने बताए । कार्यक्रममा सांसदद्धयलाई विभिन्न माग समेटिएको ज्ञापन पत्र बुझाइएको छ । लागत लिन छुट मुक्त कमैयाहरुको तत्काल लागत लिन माग गरिएको छ । लागत लिएका मुक्त कमैयालाई यथासिघ्र परिचयपत्र वितरण गरि पुनर्स्थापना गर्न सरकार सक्षम माग राखिएको छ ।


जग्गा, घर निर्माणको लागि आवश्यक काठ र नगद तुरुन्त उपलब्ध गराउन अधिकार सम्पन्न राजनीतिक संयन्त्र निर्माण गरेर पुनर्स्थापनाको कार्य अघि बढाउनु पर्ने, मुक्त कमैया परिवारमा कम्तीमा एक घर एक रोजगार कार्यक्रम अनिवार्य लागू गर्नुपर्ने लगायतका माग राखिएको छ । मुक्त कमैया समाजका जिल्ला अध्यक्ष हरिचन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य टेकबहादुर रावत, गढवा–३ का वडा सदस्य छुकान चौधरी, पत्रकार दशरथ घिमिरे, कमैया महिला जागरण समाजका अध्यक्ष कमलमपती चौधरी लगायतले मन्तब्य व्यक्त गरेका थिए । दाङका १७ जना मुक्त कमैयाले सरकारले पाँच कट्ठा जग्गाको पुर्जा दिएको छ ।

तर, ती मुक्त कमैयाले आफ्नो जग्गा चिन सकेका छैनन । राप्ती गाउँपालिकामा पाँच जना, लमही नगरपालिकामा १० जना र घोराही उपमहानगरपालिकामा २ जना गरि यस्तो समस्या भोग्ने मुक्त कमैयाको संख्या १७ रहेको छ । दाङमा परिचयपत्र प्राप्त गरेका १ हजार ४ सय २६ जना मुक्त कमैया छन । जस मध्य लालपुर्जा प्राप्त गरेका ६ सय ८८ जना मुक्त कमैया छन । सट्टा भर्ना गर्न बाँकी ४८ जना मुक्त कमैया रहेको मुक्त कमैया समाजका जिल्ला अध्यक्ष हरिचन्द्र चौधरीले जानकारी दिए । अझै जिल्लामा २ हजार चार सय ३६ मुक्त कमैयाको लगत लिन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार