काठमाडौं, १३ साउन : नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९ हजार ६३ पुगेको छ । मंगलबार ३ सय ११ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या १९ हजार ६३ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा बिभिन्न जिल्लामा गरी ३ सय ११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यसैगरी काठमाडौं उपत्यकामा मात्र ५३ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये ४८ जना काठमाडौं जिल्लाका छन् भने चार जना ललितपुर र एक जना भक्तपुरका छन् । मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत प्रहरीमात्रै २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यसैगरी नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार साउन ९ गते निधन भएका बझाङको बुंगल ३ का ६५ वर्षिय पुरुषको मंगलबार संक्रमण पुष्टि भएको हो । उनको आफनै घरमा निधन भएको हो ।
उनी गत असार २४ गते भारतको बैंग्लोरबाट बझाङ आइपुगेका थिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । हालसम्म पीसीआर विधिबाट ३ लाख ५३ हजार ३ सय ७ जनाको नमूना परीक्षण भएको छ । अहीलेसम्म कूल संक्रमितमध्ये १३ हजार ८ सय ७५ जना उपचारपछि निको भएर घर फर्किएका छन । हाल देशैभरी गरेर १५ हजार ३ सय ३१ जना क्वारेन्टिनमा रहेका छन् ।