घोराही १७ को प्रगति ९५ प्रतिशत, दिगो विकासका लागि उपभोक्ता सहभागिता : नगरप्रमुख चौधरी

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १३ गते मङ्गलवार


घोराही :  घोराही उपमहानगरपालिका १७ ले बार्षिक समिक्षा एवं सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । वडा अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा नगर नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा वडा कार्यालयमा कार्यक्रम भएको हो । वडा कार्यालयले आर्थिक प्रगती ९५ प्रतिशत भएको जनाएको छ । जस अनुसार पूर्वाधार तर्फ ६६ लाख, विपत व्यवस्थापन तर्फ ९९ हजार ७ सय ३०, सामाजिक विकास तर्फ १८ लाख ४५ हजार ५ सय र चालु तर्फ १० लाख रुपैयाँ खर्च भएको वडा अध्यक्ष खुसीराम चौधरीले जानकारी दिए ।

वडामा वडा स्तरीय एक करोड, नगर स्तरीय २ करोड ५६ लाख ७४ हजार ७ सय ७० रुपैयाँ, प्रदेश स्तरीय ३ करोड ५ लाख १५ हजार ४ सय र संघिय योजनाको ३ करोड ८४ लाख ६३ हजार ४ सय ७ रुपैयाँ गरि १० करोड ६६ लाख ५३ हजार ५ सय ४७ रुपैयाँ प्राप्त भएको उहाँको भनाई छ । त्यस मध्य ९५ प्रतिशत बजेट कार्यान्वयनमा आएको वडा कार्यालयले जनाएको छ ।

साथै कोरोना संक्रमण रोकथामका लागि क्वारेन्टाईन व्यवस्थापन तथा सञ्चालन खर्च तर्फ ५ लाख ९८ हजार २ सय ३५ रुपैयाँ खर्च भएको वडा कार्यालयले जनाएको छ । त्यसैगरि लकडाउनको समयमा जनस्तरबाट ४ लाख ४१ हजार ३ सय ४० रुपैयाँ बराबरको खाद्यान्न प्राप्त भएको छ । वडाको कोरोना कोषबाट १ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको खाद्यान्न खरिद गरेको र उपमहानगरपालिकाबाट १५ सय ५० किला चामल, १ सय ५० किलो दाल, ५० किलो नुन, १ सय १५ लिटर तेल र १ सय ८० पिस सावुन प्राप्त भएको जानकारी दिईएको छ । वडा कार्यालयले वितेको आर्थिक बर्षमा ३४ लाख १२ हजार ५ सय ५७ रुपैयाँ राजस्व संकलन गरेको छ भने विभिन्न ३ सय ४० वटा घटना दर्ता भएको जनाएको छ ।

यसैविच वडा कार्यालयले लकडाउनको समयमा आर्थिक, खाद्यान्न सहयोग गर्ने र क्वारेन्टाईन व्यवस्थापनमा खट्ने ३७ जनालाई सम्मान गरेको छ । आर्थिक तथा खाद्यान्न सहयोग गर्ने पदम केसी, प्रकाश योगी र द्रोपता न्यौपानेलाई सम्मान गरिएको हो भन्ने अन्य व्यक्ति तथा संस्थाहरुलाई कदर पत्र प्रदान गरिएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले दिगो विकासका लागि उपभोक्ताको सहभागिता अनिवार्य रहेको बताए । विकास प्रकृया निरन्तर चल्ने भन्दै उनले सरकारले ल्याउने योजनालाई आफ्नो सम्पत्ती ठानेर ग्रहण गर्न समेत आग्रह गरे । हरेक कामलाई नकारात्मक दृष्टिले हेर्ने प्रकृति बढेको भन्दै उहाँले त्यसले आफैलाई घाटा पुराउने उल्लेख गरे ।

वडामा रहेका जलाशयलाई आय आर्जन सँग जोड्ने गरी सदुपयोग गर्ने तर्फ उपभोक्ताहरुलाई सोच्न सुझाब समेत दिए । टोल विकास संस्थाहरु नै सरकारको विकासका योजना छनोट र कार्यान्वयन गर्ने आधार भएको भन्दै उनले जीवन परिवर्तन गर्ने गरी विकासलाई ग्रहण गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा १७ का अध्यक्ष पदम केसी, नेपाली कांग्रेसका वडा सभापती बुझौना चौधरी, वडाबासीहरु हुमा डिसी, शुसिला पौडेल, केवी चौधरी, नगरका सिनियर डिभिजन इन्जीनियर युवराज पौडेल लगाएतकाले विकासमा सहकार्य र पारदर्शितामा जोड दिए । वडा सदस्य रेमन्ता पुनको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण तेजकुमार शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार