सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतिविन्दु लाग्यो की ? : स्वास्थ्यमन्त्री ढकाल

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १२ गते सोमवार

काठमाडौं, १२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतिविन्दु लागेको टिप्पणी गरे । सोमबार वीर अस्पतालको १ सय ३१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम विदेशीहरुले देखेको तर नेपालीहरुले नदेख्नुमा नेपाली संस्कारमा मोतिविन्दु लागेको हुनसक्ने बताए । उनले शक्ति सम्पन्न राष्ट्रहरुले भन्दा नेपाल सरकारले प्रभावकारी काम गर्न सकेको तर नेपालीहरुले नै नदेखेको बताए ।

मन्त्री ढकालले विदेशमा बस्ने नेपाली र स्वदेशमा बस्ने नेपाली सबैले सरकारको काम नदेख्नुले नेपाली संस्कारमा मोतिविन्दु लागेको हुनसक्ने अनुभूति भएको बताए । मन्त्री ढकालले भने , ‘ शक्ति सम्पन्न राष्ट्रहरुको स्वास्थ्य नीतिप्रति त्यहाँका जनता र राष्ट्र प्रतिको जवाफदेहिता र सिमित साधन स्रोतबाट हाम्रो जस्तो मुलुकमा हामीले निर्वाह गरेको यो भूमिका विदेशमा बस्ने नेपालीले र स्वदेशमा बसेका नेपालीहरुले यसलाई देख्न सक्दैनन् । मलाई लाग्छ यो सकारात्मक पक्ष नदेख्नुमा हाम्रो संस्कारमा कतै मोतियाविन्दु लागेको छ की जस्तो अनुभूति मैले गर्ने गरेको छु ।’

कोभिड १९ बाट विश्वभर मृत्यु हुनेहरुको दर बढी रहेको तर नेपालले शुन्य दशमलव २ प्रतिशत भन्दा कममा रोक्न सक्नु सबैभन्दा सकारात्मक पक्ष भएको बताए । नेपाल कोरोना रोकथाम तथा नियन्त्रणका लागि दक्षिण एशिया मै राम्रो रहेको मन्त्री ढकालले बताए । उनले भारतमा भन्दा नेपालमा पहिला कोरोना संक्रमणको केस देखिएको तर अहिले भारतमा उच्च गतिमा वृद्धि भइरहदा नेपालमा नियन्त्रण भित्रै रहेको बताए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार