सोमबार रातिदेखि पुनः मनसुन सक्रिय हुने, यस्तो छ आजको मौसम

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ११ गते आइतवार

काठमाण्डौ  :  सोमबार रातिदेखि मनसुन फेरि सक्रिय हुने भएकाले पूर्व तयारी र सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

आज थोरै पानी परेपनि सोमबार रातिदेखि फेरि देशका विभिन्न ठाउँमा ठूलो पानी परेर बाढी र पहिरोको जोखिम रहेको भन्दै पूर्व तयारी र सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका हुन्।

मौसमविद् मन्जु बासीकाअनुसार सोमबार रातिदेखि मनसुनी न्यूनचापीय क्षेत्र नेपाल नजिकै आउने देखिएको छ । मनसुनी न्यूनचापीय क्षेत्र नेपालको दक्षिणी भेगमा रहेकाले कम पानी परेको हो।

आज देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको मौसमविद् बासीले जानकारी दिनुभयो । यस्तै वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा मेघगर्जन, चट्याङसहित ठूलो पानी पर्ने संभावना रहेको छ ।

साथै मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ।  नेपालको दक्षिण भू-भाग नजिक मनसुन न्युन चापीय रेखा रहेको छ । अहिले देशभर सामान्य बदली रही थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको माैसम यसप्रकार रहने छ । दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती पनि  देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार