दाङ : राजनितिबाट सन्यास लिएर कृषी क्षेत्रमा लागेका पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरलाई हिजो आज ड्रागन फल बेच्न भ्याई नभ्याई छ । पटक÷पटक मन्त्री भैसकेका व्यक्तिको हातमा गैती, फरुवा, हसिया, कैची हुन्छ । अचेल भने उनी ड्रागन विक्रि वितरण मै व्यस्त छन् । फर्ममा आएका व्यक्तिहरुलाई ड्रागन बारेमा जानकारी दिने, सेल्फी खिच्ने,फल टिप्न नै व्यस्त हुन्छन । उनले आफूलाई पूर्व मन्त्री भन्दा एउटा किसानका रुपमा चिनाएका छन् । पूर्व पर्यटन मन्त्री भईरहेका विष्ट मगरले कालो धान रोपेर कृषि क्षेत्रमा लागेका थिए ।
अहिले ड्रागन खेती बिस्तारमा व्यस्त छन् । केही गरौ नयाँ गरौ भन्ने सोच छ, उनीसंग तर त्यसका लागि आवश्यक आर्थिक र जमिन पाउन कठिन रहेको उनतले बताए । ड्रागनको बजार मूल्य प्रतिकेजी सेतोको ७ सय र राताको ८ सय रहेको छ । उनले जिल्लामा पहिलो पटक तुलसीपुर १८ मैरवामा ६४ कठ्ठा जमिन भाडाँमा लिएर ड्रयागन फ्रुट खेति गरेका थिए । फर्मबाट उत्पादन भएका फलले बजार नपाउला भन्ने चिन्ता नै नरहेको उनले बताए ।
अहिले दिनौँ दर्जनौँ मानिसहरु ड्रागन फल किन्न आउने गरेका छन् । पहिलो पटक ३ क्विन्टल बिक्रि भएको थियो भने दोस्रो पटक पनि डेढ क्विन्टल बिक्रि भइसकेको उनले बताए । ७ हजार बिरुवा मध्ये ३ हजार बिरुवाले फल दिन सुरु गरिसकेका छन् । एउटा बिरुवाले १ वर्षमा ५ पटकसम्म फल दिने गर्दछ । विष्टमगर सहित ३ जनाको लगानीमा सुरु गरिएकोे फर्ममा कामअनुसार दैनिक ५ देखि २५ जनासम्म मजदुरले दैनिक ज्यालादारीमा काम गर्दै आएका छन् ।
१५ वर्षसम्म लिजमा ल्याएको जमिनबाट उत्पादन भएको ड्रागन फ्रुटबाट ५ वर्षमा लगानी उठाउने र १० वर्षसम्म फाइदा लिने योजना बनाएको उनले बताए । वार्षिक रुपमा जग्गा लिजमा ल्याए बापत् ३ लाख भाडा रहेको छ । फल मात्रै होइन ड्रागनका बिरुवा समेत बिक्रि वितरण भइरहेका छन् । रातो प्रजाति बिरुवाको मूल्य प्रति ओटा ३ सय रहेको छ, भने सेतोको प्रति ओटा मूल्य २ सय रहेको छ । हालसम्म ४ हजार ड्रयागनका बिरुवा बिक्रि भैसकेका छन्, भने ८ हजार नर्सरीमै रहेका छन् । विष्टमगरको ड्रागन फर्ममा नेता, संसद, जनप्रतिनिधि, किसान, विद्यार्थी, व्यापारी सबै पुगेकै हुन्छन् ।