दाङमा लगातारको वर्षाका कारण ग्रामीण सडकहरू बिग्रन थाले

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ८ गते बिहिवार

दाङ :  लगातारको वर्षाका कारण विभिन्न ठाउँका ग्रामीण सडकहरू बिग्रन थालेका छन् । विकासका नाममा गाउँ–गाउँमा बिना मापदण्ड खनिएका सडक वर्षातको पानीले चिरा–चिरा पर्न थालेका हुन् । वर्षातका कारण सडक बिग्रिएपछि आवत–जावतमा समस्या हुने गरेको छ ।जिल्लामा पश्चिम दाङको बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका, तुलसीपुर उपमहागरपालिका पहाडी क्षेत्रका सडकहरू वर्षातले चिराचिरा परेको स्थानीयले बताएका छन् ।

बबई गाउँपालिका वडा नम्बर ७ को ढोलपुरदेखि मलई जोड्ने सडक ठाउँ–ठाउँमा वर्षातका कारण चिराचिरा परेको मलईका स्थानीय खुमानन्द खत्रीले जानकारी दिए ।‘सडक वर्षाले बिग्रिएपछि सवारी साधन जोखिममा सञ्चालन हुने गरेका छन्, पश्चिम दाङका अधिकांश सडकमा त सवारी साधन वर्षा लागेपछि सञ्चालनमा आउन सक्दैनन्’ उनले भने– ‘सडक निर्माण भएको करिब १३÷१४ वर्षसम्म पनि सडकको स्तरोन्नती हुन सकेको छैन्, जसले गर्दा ग्रामीण भेगका नागरिकले सास्ती पाउने गरेका छन् ।’

वर्षातका कारण बबई गाउँपालिका वडा नम्बर १ को गंगटे जोड्ने बाटो सिमलकुना, भाङाबारी, जौबारीलगायतका ठाउँमा चिरा–चिरा परेको स्थानीयले बताएका छन् । वर्षा भएसँगै सडक सञ्चालनमा अवरोध सिर्जना हुने गरेको पुनले बताए । सडकको स्तरोन्नतीका लागि सरकारको ध्यान पुग्न नसकेकोे उनले गुनासो गरे ।

यस्तै लगातारको वर्षातका कारण दंगीशरण गाउँपालिका वडा नम्बर १ को फुर्केसल्ली–मलई जोड्ने सडक पनि ठाउँ–ठाउँमा छिया–छिया परेको छ । यो सडक पनि वर्षेनी वर्षातका कारण सञ्चालनमा कठिनाई हुने गरेको स्थानीयले बताएका छन् । सडक निर्माण भएपनि नालाको उचित व्यवस्थापन नहुँदा सडकमा क्षति पुग्ने गरेको छ ।

यस्तै वर्षात्का कारण तुलसीपुर उपमहागरपालिका वडा नम्बर ३ पैयाँखोरेदेखि कल्लेबल्ले जोड्ने सडकमा पनि ठाउँ–ठाउँमा बिग्रिएको स्थानीयले बताएका छन् । अविरल वर्षाले सडक चिरा–चिरा परेको र सवारी आवागमनमा समस्या हुने गरेको स्थानीय प्रेम बिसीले बताए ।

वर्षात्ले कतै सडक चिरा–चिरा परेको छ, कतै हिलाम्य भएको छ, जसका कारण सवारी साधन आवत–जावतमा समस्या हुने गरेको छ’ उनले भने– ‘वर्षामा यहाँका नागरिकले हरेक वर्ष सास्ती पाउने गरेका छन्, सडकको गुणस्तरमा अझै कसैको ध्यान पुग्न सकेको छैन् ।’यस्तै हरनेटीदेखि वडा नम्बर ४ को मुलकोट जोड्ने सडक पनि ठाउँ–ठाउँमा बिग्रेका कारण सवारी साधन सञ्चालनमा कठिनाइ हुने गरेको छ ।

‘मलई जोड्ने सडक एक वर्षमा ६ महिना पनि राम्रोसँग सञ्चालन आउन सक्दैन्’ उनले भने– ‘सडक वर्षातले भत्किदा खाद्यान्नलगायतका सामग्री ढुवानी गर्न समस्या हुने गरेको छ ।’ वर्षातले हरेक वर्ष सडक बिग्रने समस्याका कारण यस क्षेत्रका नागरिकले सास्ती पाउने गरेको उनले बताए ।यस्तै वर्षात्ले राप्ती, गढवा गाउँपालिकाका नाका क्षेत्रका ग्रामीण सडकहरू पनि ब्रिगेको स्थानीयले बताएका छन् । वर्षातले नाकामा पनि अधिकांश सडक बिग्रेको स्थानीय कलसिं विकले जानकारी दिए । ‘नाका क्षेत्रमा हरेक वर्षातको समयमा सडक बिग्रने गर्दछन्, सरकारले यस क्षेत्रका सडकको स्तरोन्नतीमा ध्यान दिन सकेको छैन्’ उनले भने– ‘सडक बनाउने तर मर्मतमा ध्यान पुग्दैन् ।’ यो समाचार प्रदेश टुडे दैनिकमा पत्रिकामा जितसागर जिएमले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार