तुलसीपुर, पशुपालनलाई आधुनिक बनाउने प्रजननको नश्ल सुधार गर्ने र किसानलाई व्यवसायीक बनाउने उद्देश्यले तुलसीपुरमा बोयर बोका वितरण गरिएको छ । व्यवसायीक रुपमा किसानहरुलाई कृषि तथा पशुपालनमा आकर्षित गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाको पशु सेवा शाखाले उन्नत जातका बोयर बोका वितरण गरेको हो ।
उपमहानगरपालिकाको पशु सेवा शाखाले २८ जना किसानलाई बोयर बोका शतप्रतिसत अनुदानमा उपलब्ध गराइएको शाखा प्रमुख सुभास आचार्यले बताए । आचार्यका अनुसार वडा नम्बर १ अविधारा क्षेत्रका किसानका लागि ७ वटा र अन्य २१ जना किसानलाई गरी बोयर जातका २८ वटा बोका झण्डै १० लाख रुपैयाँको लागतमा वितरण गरिएको हो । बोयर बोका आर्थिक समितिको सिफारिसमा वितरण गरिएको उनले बताए ।
उपमहानगरपालिकाले वडाको अविधारा क्षेत्रलाई बाख्राको पकेट क्षेत्र निर्माण गर्न थालिएको त्यहाँ समूहका लागि किसानहरुलाई शतप्रतिशत अनुदानमा बाख्रा उपलव्ध गराएको उनले बताए ।पशुपालनको विकास गर्ने कार्यविधि अुनसार एक गाउँ एक उत्पादनका लागि सुर्खेत, अर्घाखाँची लगायतका जिल्लाहरुबाट उन्नत जातका बोका खरिद गरी किसानहरुलाई वितरण गरिएको उनले बताए ।
उक्त क्षेत्रमा अहिले ३० जना किसानहरुको सहभागितमा अविधारा बाख्रापालन मूल समिति निर्माण गरिएको छ । समितिले ७ सय ५० वटा उन्नत जातका बाख्राहरु पाल्दै आएको छ ।उपमहानगरको पशु सेवा शाखाले अविधारा बाख्रापालन समितिलाई ७ वटा र २१ जनालाई प्रति किसान १ वटा गरी २८ वटा प्रदान गरिएको हो ।
विशेषगरी उन्नत जातका बाख्रामा प्रजनन विकास, किसानलाई पशुको कृत्रिम गर्भाधारणमा आकर्षण गर्न र वास्तविक किसानलाई व्यवसायीकरण गराउनका लागि शाखाले यो कार्यक्रम सञ्चालन गरेको आचार्यको भनाई छ ।यसैबीच शाखाले व्यावसायीक भैसी फाराम गोलौरालाई एउटा राँगा उपलब्ध गराएको छ । पशुको कृत्रिम गर्भाधारणमा विश्वास नगरेको भन्दै शुभभ भैंसी फारामलाई ६० हजार रुपैयाँ बराबरको राँगा उपलब्ध गराएको हो ।
यो समाचार प्रदेश टुडे दैनिकमा छापिएको छ ।