
दाङ : प्रदेश ५का प्रदेश सभा सदस्य रेवतीरमण शर्माले सिमान्तकृत तथा विपन्न समुदायका नागरिकको जीवनस्तर माथि उकास्नेगरी रोजगारी प्रवर्द्धन हुने खालका कार्यक्रममा बजेट र योजना दुबै केन्द्रित गर्न सुझाव दिएका छन् । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन गरिएको राजपुर गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रको अनुगमनको क्रममा सांसद शर्माले विपन्न वर्गको जीवनस्तरमा सुधार ल्याउने कार्यक्रमको मुख्य उदेश्य भएको बताए ।
सो क्रममा बाख्रा स्रोत विकास, स्वरोजगार, बाल शिक्षा व्यवस्थापन, शैक्षिक सामाग्री वितरण लगायतका कार्यक्रम सञ्चालन गरिएको जानकारी गराइएको छ । दुबै गाउँपालिकामा गरी एक करोड बजेट मार्फत कार्यक्रम गरिएको छ ।
मानव विकास सुचांकमा पछाडि परेको समुदायको जीवनस्तरमा सुधार ल्याउन कार्यक्रम केन्द्रित गरिनुपर्छ,‘ उनले भने,‘ पिछडिएको क्षेत्रमा बजेट र कार्यक्रम लगिनु पर्छ ।’
जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको नेतृत्वमामा प्रदेश सभा सदस्य दामा शर्मा, सरस्वती गौतम, जिल्ला समन्वय समितिका सदस्य जक्तबहादुर बस्नेत, जिल्ला समन्वय अधिकारी सावित्रा पुन थापा लगाएतको टोलि अनुगमन गरेको हो ।
राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षतामा भएको अनुगमन छलफलमा लकडाउनका कारण योजना संशोधन गरेर कार्यक्रमगरीको जानकारी गराइएको छ । सहभागीले नाका क्षेत्रलाई प्राथमिकतामा राखेर योजना कार्यान्वयन गर्न सुझाव दिइएको छ ।
गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा लकडाउनका कारण संशोधन गरेर भएपनि कार्यक्रम सम्पन्न गर्न थालिएको जानकारी गराइएको छ । अनुगमन कार्यक्रमको सहजिकरण सहजकर्ता गिरीराज भट्टले गरेका थिए ।