
दाङ : कोरोनाको संक्रमण दर बढिरहेको समयमा संक्रमित निको हुने क्रम पनि बढी नै छ । प्रदेश नम्बर ५ मा कुल संक्रमितमध्ये करिब ५४ प्रतिशत कोरोना संक्रमित उपचारपछि निको भएर फर्किएका छन् ।
आइतबारसम्मको तथ्यांक अनुसार प्रदेशमा कुल संक्रमित ३ हजार ८ सय ९४ मध्ये अहिलेसम्म २ हजार ६९ जना निको भएका छन् । जुन कुल संख्याको ५३ दशमलव १३ प्रतिशत हो ।
प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य निर्देशनालयका अनुसार कोरोनाबाट बढी प्रभावित कपिलवस्तुमा कुल संक्रमित ७ सय ४५ मध्ये ६ सय ६७ जना निको भएका छन् ।
त्यसैगरी दाङमा ५ सय ९० मध्ये २ सय १३, बाँकेमा ३ सय ७२ मध्ये ३ सय ४५, पाल्पामा ५ सय ३६ मध्ये २१, गुल्मीमा ३ सय ४७ मध्ये १ सय ४७ जना डिस्चार्ज भएका छन् ।
त्यसैगरी अर्घाखाँचीमा ३ सय १९ मध्ये १ सय २७, रूपन्देहीमा ३ सय १४ मध्ये २ सय ३९, प्यूठानमा ३ सय २३ मध्ये ७३, बर्दियामा १ सय ९२ मध्ये १ सय ४८, पश्चिम नवलपरासीमा ९९ मध्ये ४५, रोल्पामा ५१ मध्ये ४१ र रूकुम पूर्वमा ४ जना मध्ये ३ जना निको भएका छन् ।
प्रदेश नम्बर ५ का १२ जिल्लामध्ये सबैभन्दा बढी बाँकेमा ९२ दशमलव ७४ र सबैभन्दा कम पाल्पामा ३ दशमलव ९२ प्रतिशत कोरोना संक्रमित निको भएका छन् ।
तथ्यांक अनुसार अहिलेसम्म कपिलवस्तुमा ८९ दशमलव ५३, दाङमा ३५ दशमलव ६२, गुल्मीमा ४३ दशमलव ११, अर्घाखाँचीमा ३९ दशमलव ८१, रूपन्देहीमा ७६ दशमलव ११, प्यूठानमा २२ दशमलव ६०, बर्दियामा ७७ दशमलव ०५, नवलपरासी पश्चिममा ४५ दशमलब ४५ र रोल्पामा ८० दशमलव ३९ प्रतिशत निको भएका छन् ।
प्रदेशमा १३ संक्रमितको मृत्यु
प्रदेश नम्बर ५ मा अहिलेसम्म कुल कोरोना संक्रमितमध्ये १३ जनाको मृत्यु भएको छ । प्रदेशका १२ जिल्लामध्ये गुल्मी र अर्घाखाँचीमा ३÷३ जना कोराना संक्रमितको मृत्यु भएको छ ।
त्यसैगरी दाङ र बाँकेमा २/२ जनाको मृत्यु भएको छ भने रूपन्देही, रोल्पा र पाल्पामा १/१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङका दुईजना मध्ये एकजनाको भारतमै निधन भएर स्वाव दाङमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो । अर्का एकजना बेवारिसे महिलाको उपचारको क्रममा मृत्यु भएको हो । यो समाचार प्रदेश टुडे राष्ट्रिय दैनिकमा जित सागर जिएमले लेखेका छन् ।