
दाङ : प्रदेश ५ का प्रदेशसभा सदस्य रेवतीरमण शर्माले कोरोना भाइरस रोग नियन्त्रणको क्षेत्रमा तीन तहकै सरकारले सफलतापूर्वक काम गरेको बताए ।
जिल्ला समन्वय समिति दाङले आयोजना गरेको पालिका स्तरका क्वारेन्टिनको अनुगमनको क्रममा भएको छलफलमा सांसद शर्माले कोरोना भाइरस नियन्त्रणको क्षेत्रमा भएका प्रयासहरु सफल भएको बताए ।
यस्तै उनले कोरोना भाइरस नियन्त्रणको क्षेत्रमा स्थानीय पालिकाबाट भएको खर्च विवरणहरु सार्वजनिक गर्न अनुरोध गर्नु गरे । खर्च विवरणहरु सार्वजनिक गर्दै जवाफदेहीता र पारदर्शीतामा उदाहरण बन्न उनले आग्रह गरेका छन् ।
पछिल्लो समय क्वारेन्टिनहरु खाली हुन थालेको, वैदेशीक रोजगारीमा गएकाहरुको घर फर्किने दर घट्दै गएको जानकारी गराईएको छ ।
यस्तै सांसद दामा शर्माले अस्थायी क्वारेन्टिनको संख्या विस्तारै घटाउदै लैजान सुझाव दिईन् । उनले स्वाव परिक्षणमा ढिलाई गर्न नहुने भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परिक्षणमा आलटाल गरे जिल्ला बाहिर लगेर भएपनी परिक्षण गराउन सुझाव दिईन् ।
गढवा गाउँपालिका र राजपुर गाउँपालिका स्तरमा गरिएको अनुगमनको क्रममा पालिकाका अध्यक्षहरुले सुरुका दिनमा क्वारेन्टिन व्यवस्थापनमा केही चुनौती थपिएपनी त्यसको सफल व्यवस्थापन गर्न सकिएको जानकारी दिए ।
गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, स्वास्थ्य शाखा संयोजक कैलाश चौधरीसंग सासंदद्धय शर्मा, जिल्ला समन्वय समितिका उप–प्रमुख श्रीधर शर्मा पौडेलले छलफल गरेका थिए । यस्तै राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, स्वास्थ्य शाखाका प्रमुख कमल रोकायसंग पनि सोही टोलीले छलफल गरेको हो ।
यसैविच जिल्ला समन्वय समितिले गढवा र राजपुर गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । मास्क, पञ्जा, स्यानिटाइजर, थर्मलगन हस्तान्तरण गरिएको थियो ।