दाङ : दाङको बंगलाचुली गाउँपालिका ५ का वडाध्यक्षलाई कोरोना संक्रमण देखिएको छ । दाङमा मंगलवार कोरोना पुष्टि भएका ८ जना मध्य एक वडाध्यक्षलाई पनि संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको परीक्षणमा वडाध्यक्षमा संक्रमण पुष्टि भएको गाउँपालिकाका प्रेस संयोजक जिवन नेपालीले बताए ।
भारतबाट आएकाहरुको उद्धार र व्यवस्थापनमा खटिएका ५४ बर्षीय वडाध्यक्ष कोरोना देखिए उनले बताए । बंगलाचुलीको सुधा मावि झेल्नेटामा गरिएको स्वाब संकलनबाट वडा नम्बर ५ का १९, २७, ३१, ३२ र ५४ बर्षीय पुरुषमा कोरोना देखिएको हो । त्यस्तै बंगलाचुलीकै वडा नम्बर ७ का २९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
गाउँपालिकाले पछिल्लो समय ७४ जनाको स्वाब संकलन गरेर परीक्षण गराएको थियो । त्यसैगरी राप्ती गाउँपालिका वडा नम्बर ९ का ५५ वर्षीय र वडा नम्बर १ का १८ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । राप्ती गाउँपालिकाबाट १ सय १७ जनाको स्वाब संकलन गरिएकोमा १ सय १५ जनाको नेगेटिभ र २ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।