दाङ : दाङमा सोमबार थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिकाका विभिन्न क्वारेन्टाईनमा बसेका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणका क्रममा घोराही उपमहानगरपालिका १ का ३० बर्षका पुरुष र ११ बर्षिया बालिकामा कोरोना देखिएको छ । त्यस्तै वडा नं. २ का २६, ४०, ४५, ४६ बर्षीय ४ जना पुरुष र १९ बर्षीया महिलामा कोरोना पुष्टि भएको जनाएको छ । त्यसैगरी वडा नं. ५ का ५३ बर्षीय पुरुष र वडा नं. १७ का २० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु सबै भारतबाट आएको सम्बन्धित वडा कार्यालयले बनाएको क्वारेन्टाईनमा बसेका थिए । सबैको स्वास्थ्य अबस्था सामान्य नै रहेको घोराही उपमहानगरपालिकाको जनस्वास्थ्य प्रर्बद्धन शाखाले जनाएको छ । यो दाङमा संक्रमितको संख्या ४३ पुगेको छ । यता दाङको तुलसीपुर १७ बेलझुण्डी स्थित कोरोना बिशेष अस्पतालमा अहिले ५१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । ५० जना राख्न सक्ने क्षमता रहेको उक्त अस्पतालमा ५१ जना विरामी छन् ।
सबै भन्दा धेरै दाङका ३३ जना, बर्दियाका ५ जना, बाँकेका ५ जना, कपिलवस्तुका २ जना, रुपन्देहीका ३ जना र रुकुम पूर्वका ३ जना गरि ५१ जनाको संक्रमित रहेको अस्पतालका व्यबस्थापक दोर्ण वलीले बताए । १ सय बेड भनिए पनि ५० जना राख्ने गरिन्छ । एकजना संक्रमितलाई २ वटा बेड आबश्यक पर्ने उनले बताए ।
‘ १ जना संक्रमितको स्वाब परीक्षण गर्दा नेगेटिभ आएमा अर्को बेडमा सार्नु पर्ने हुन्छ,’ उनले भने ,‘ सोही अनुसार १ सय बेड भएको अस्पताल भएता पनि ५० जना मात्रै संक्रमित राख्न सकिन्छ । तर, अहिले बेलझुण्डीमा ५१ जना संक्रमित छन् । ’
५१ जना भएपनि असहज भने नभएको उनले बताए । अहिले ५१ जनामध्ये २ जनाको पहिलो चरणको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले अर्को बेडमा सारिएको र संक्रमितहरुलाई राख्ने बेडमा ४९ जनालाई राखिएको उनले बताए ।