
दाङ : बाँकेमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । उपचारको क्रममा सोमबार बिहान थप एकजनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १२ पुगेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । आइतबार मध्यरातमा भएको दुर्घटनामा ११ जनाको घटनास्थलमै ज्यान गएको थियो । घाइते २१ जनाको भेरी अस्पतालमै उपचार भइरहेको छ । घाइते मध्य ५जनाको अवस्था गम्भीर रहेको उनले बताए ।
दुर्घटनामा परेकाहरु भारतका विभिन्न शहरबाट आएका थिए । नेपालगञ्ज नाकाबाट उद्धार गरेर उनीहरुलाई सल्यान पठाईँदै थियो । ना ५ ख ५९९५ नम्बरको हाइस गाडीमा ३३ जना सल्यानतर्फ जाँदै थिए ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा आइतबार राती सवा १२ बजे हाइस दुर्घटनामा परेको हो । मृतक १२ जनाकै शव भेरी अस्पतालमा रहेको छ । मृतकको सनाखत हुन नसकेको प्रबक्ता बैदवारले बताए ।