• २०७७ कार्तिक ६ गते बिहिवार

क्वारेन्टाइनमा सचेतना शृङ्खला

Author Logo..
अनलाइन राप्ती २०७७ असार १४ गते आइतवार

तुलसीपुर : क्वारेन्टाइनमा रहेका व्यक्तिहरुमा विभिन्न ठाउँमा देखिएको समस्यालाई न्यूनीकरण गर्न दाङमा युवाहरुले सकारात्मक अभियान सुरु गरेका छन् । दाङको तुलसीपुरमा रहेको युवा संसदको अगुवाईमा क्वारेन्टाइनहरुमा विभिन्नखालका सकारात्मक क्रियाकलापहरु सुरु गरिएको छ ।

विशेषगरी कोरोनाको रोकथामका लागि क्वारेन्टाइनमा बसेकाहरुको मनोबल बृद्धि गरी स्वास्थ्य सुरक्षा, स्वास्थ्य सजकता, मानसिक विचलनमा रोक र विविध विषयमा सचेत गराउने उद्देश्यले यो अभियान थालिएको हो । ‘कोरोनाविरुद्ध आत्मबल बढाऔँ, कोरोना भगाउ’ भन्ने उद्देश्यका साथ कार्यक्रमको सुरुवात गरिएको हो ।

नमुना युवा संसदको आयोजना तथा राष्ट्रिय युवा परिषद् र तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा शनिबारदेखि अभियान थालिएको हो ।

कार्यक्रममा कोरोनाभाइरसविरुद्ध लड्नका लागि मनोबल बलियो बनाउनुपर्ने, नियमित सरसफाईमा ध्यान दिनुपर्ने र सुरक्षा सवाधानी अपनाउनुपर्ने विषय समेटिएको छ ।

दाङमा पहिलोपटक क्वारेन्टाइनमा बसेकाहरुका लागि फरक तरिकाले सचेत गराउने प्रयास गरेको नमुना युवा संसद तुलसीपुरका राष्ट्रपति मदन भुसालले बताए ।

उनले नाट्य संवाद र मनोरञ्जनात्मक तरिकाले क्वारेन्टाइनमा बसेकाहरुलाई सचेत गराउनका लागि कार्यक्रम सुरु जानकारी दिए । पछिल्लो समय क्वारेन्टाइनमा विविध घटनाहरु भएको खबरले क्वारेन्टाइनमा बसेकाहरुको मनोबल कमजोर बन्दै गएकाले यो कार्यक्रम सञ्चालन गरिएको उनको भनाई छ, यो समाचार प्रदेश टुडे राष्ट्रिय दैनिकमा उमा भण्डारीले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार