• २०७७ मङ्सिर ११ गते बिहिवार

बहुला खोलामा ११ कि.मी तटबन्ध हुदै

चरकमटियामा काम राम्रो नभएको स्थानियको गुनासो
Author Logo..
अनलाइन राप्ती २०७७ असार १३ गते शनिवार

दाङ : बबई गाउँपालिका वडा नं. ७ चरकमटियाका रुद्र बस्नेत बहुला खोलामा तटबन्ध भएपछि पछि बर्षौ सालदेखि खोलाले बगरमा परिणत गरिएको खेतमा फेरी खेती गर्न पाउँदा खुशी लागेको बताए । तर उनले आफुहरुको खेत भएको ठाउँमा ठेक्दारले काम राम्रोसंग नगरिदिएको बताए । भर्खरै काम सम्पन्न भएको छ, तर तारजाली उम्किएका छन्, त्यसैले राम्रो काम नभएको उनले बताए ।

त्यसैगरी सोही ठाउँका भुप बहादुर हमालले तटबन्धले गर्दा २० विगाह भन्दा बढि खेत संरक्षण भएता पनि आफुहरुको ठाउँमा काम राम्रो नभएको बताए । उनले हेर्ने बेला राम्रो काम भएता पनि तारजाली गर्ने बेला ठेक्दारले कपडा प्रयोग नगरी, तारजाली राम्रोसंग नबाधि काम सम्पन्न गरेको बताए । यहि खोलाको तलमाथी भइरहेको काम राम्रो भएको भएता पनि करिब ३ सय मिटर क्षेत्रमा गुणस्तरिय काम नभएको उनले बताए ।

यस कामको बारेमा सिंचाई कार्यालयका प्रमुखलाई जानकारी गराएको भएता पनि उहाँले ब्यवास्ता गरेको उनले बताए । त्यसैगरी सोही ठाउँका अर्का सन्तोस बस्नेतले खोलाले आफ्नो करिब १५ कठ्ठा खेत मध्य २÷३ वटा गहरामा बचेको थिए, तर तटबन्धले गर्दा आधा खेत आएको बताए । तर आफुहरु खेत भएको ठाउँमा काम राम्रो नभएको उनको भनाई । उक्त ठाउँमा जाली भर्ने काम लिएका निलकण्ठ केसीले लकडाउनको बेला काम गर्दा कपडा नआउँदा कपडा नै नहाली थोरै ठाउँमा काम गरेको उनले बताए ।

‘ थोरै ठाउँमा कपडा हालेको छैन्, अन्य काम त राम्रो छ,’ उनले भने ,‘ ठेक्दारले लकडाउन हुदाँ कपडा नपाएपछि कपडा नहाली काम गरेको हौं।’ यता सिंचाई जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दाङका प्रमुख गणेश मरासेनीले चरमटीया क्षेत्रबाट जियोचेक्स्टाईल कपडा नहालेर काम भएको भनि आफुहरुलाई पनि गुनासो आएको र आफुहरुले एक पटक अनुगमन गरेर जोखिम ठाउँ भएको ठाउँमा फेरी गर्न लगाउने र बाँकी ठाउँमा कपडाको डबल पैसा काटेर भुक्तानी गर्ने बताए ।

बहुला खोला जोखिम र धेरै खेति योग्य जमिन बगरमा परितण गरेको खोला भएकाले प्रदेश सरकारको कुल लागत अनुमान ४१ करोड ५८ लाखमा शान्तिनगर ५ र बबई ७ वडामा ११ किलो मिटर तटबन्धको काम गत आर्थिक बर्षदेखी शुरु भइरहेको उनले बताए । अहिले सम्म साढे ९ किलो मिटर काम सम्पन्न भएको र अब आगामी आर्थिक बर्षमा सबै काम सम्पन्न हुने र करिब २० करोडमा लाग्ने उनको भनाई छ ।

यो तटबन्धले १४सय ७५ घरधुरी लाभान्वित हुने र करिब ३ सय ५५ हेक्टर बगरमा परिणत भएको जमिन खेतीमा गर्न मिल्ने उनले बताए । त्यसैगरी करिब ढेड सय हेक्टर खेति योग्य जमिन र ३५ वटा घर कटानबाट जोगिने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार