प्रतिष्ठामा थपियो पिसिआर मेसिन

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ३२ गते आइतवार


दाङ :  कोरोना परिक्षणका लागि स्वावले पालो पर्खन थालेपछि दाङमा पिसिआर मेसिन थप हुन लागेको छ । कोरोना जाँच गरिरहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुईवटा पिसिआर मेसिन जडान हुन लागेको हो ।

मेसिन थप भएपछि दैनिक १ हजारदेखि १ हजार ५ सयसम्म स्वाव परिक्षण गर्न सकिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा अहिले दैनिक सरदर २ सय ५० स्वाव जाँच हुने गरेकोमा दुईवटा मेसिन थप सञ्चालनमा आएपछि परिक्षणको दायरा बढ्ने भएको हो ।

प्रतिष्ठानमा दाङसहित प्रदेश ५ का बाँके, बर्दिया, कपिलवस्तु, रोल्पा, प्यूठान, नवलपरासी पश्चिम र कर्णाली प्रदेशको सल्यान लगायतका जिल्लाको स्वाव परिक्षणका लागि आउने गरेपछि मेसिन थप गर्न लागेको प्रतिष्ठानका उपकुलपति डा.संगीता भण्डारीले बताइन् ।

‘प्रतिष्ठानमा अहिले पनि ४ हजार बढी स्वाव परिक्षणको पालो पर्खिरहेका छन्, दैनिकरूपमा स्वाव थुप्रिदै गएको छ’ उनले भनिन्–‘त्यसैले तत्कालै दुईवटा मेसिन थप्न लागेका छौँ’ ।

प्रतिष्ठानका एउटा मेसिन जडान हुन शुरू भइरहेको उनले बताईन्  । ‘अहिलेकै क्षमताको मेसिन जडान भइरहेको छ, सम्भवतः ४÷५ दिनभित्र उक्त मेसिनबाट पनि जाँच शुरू हुनेछ,

अर्को मेसिन ल्याउने प्रक्रियामै छौँ, त्यो मेसिनबाट पनि एक साताभित्रै जडान हुनेछ ।’ प्रतिष्ठानमा एकैपटक तीनवटा मेसिनबाट दैनिक १ हजारदेखि १ हजार ५ सयसम्म स्वाव परिक्षण गर्न सकिने उपकुलपति भण्डारीको भनाई छ ।

‘प्रतिष्ठानमा अब आउन लागेको मेसिनको जाँच गर्ने क्षमता दुईवटा मेसिनको भन्दा दोब्बर क्षमता छ’ उनले भनिन्– ‘तीनवटै मेसिन जडान भएपछि संकलन भएको स्वावको परिक्षण छिट्टै हुनेछ, स्वाव दिएकाको रिपोर्ट कहिले आउने हो भनेर सोधिरहनु हुन्छ, जाँच गर्ने मेसिन एउटै हुँदा गति बढ्न सकेको छैन् ?’

प्रतिष्ठानमा जडान हुन लागेका मेसिनको लागत १ करोडभन्दा बढी रहेको उनले बताइन् । ‘मेसिनलाई मात्रै ३० लाखसम्म पर्छ, मेसिनमात्र भएर भएन्,

त्यसका लागि अन्य व्यवस्थापन पनि चाहिन्छ’ उनले भनिन्– ‘प्रतिष्ठानमा आउन लागेको थप मेसिन पनि संघीय सरकारले नै सहयोग गरेको हो ।’ प्रतिष्ठानमा अहिले दाङको मात्रै ३ हजार ५ सय बढी स्वाव थुप्रिएर बसेको छ ।

यो समाचार प्रदेश टुडे पत्रिकामा प्रकासित छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार