प्रदेश ५ मा आइसोलेसनको नयाँ मापदण्ड तयार

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ३१ गते शनिवार

बुटवल : प्रदेश ५ सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि आइसोलेसनको नयाँ मापदण्ड तयार गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन तहका आइसोलेसनका लागि फरक फरक मापदण्ड स्वीकृत गरेको हो। जिल्लास्तरीय, स्थानीय तथा होम आइसोलेसन गरी तीन तहका आइसोलेसनका लागि फरक–फरक मापदण्ड तयार पारेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए।

उनका अनुसार विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेको मापदण्डअनुरुप नै आइसोलेसन केन्द्रको मापदण्ड निर्धारण गरिएको हो।  मापदण्डअनुसार पिसिआर परीक्षणमार्फत् कोरोना पुष्टि भएका तर लक्षण देखा नपरेका संक्रमितहरुलाई राखिने उनले बताए। त्यस्तै, प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम समितिको अनुमतिमा होम आइसोलेसनमा (घर तथा होटलमा समेत) बस्न मिल्ने गरी मापदण्ड तयार पारिएको छ।

प्रदेश सरकारले कोभिड–१९ को संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न कार्यविधि पनि निर्माण गरेको छ। हाल शव व्यवस्थापनको काम नेपाली सेनाले गर्दै आइरहेको भए पनि त्यसलाई थप व्यवस्थित गर्न कार्यविधि तयार पारिएको मन्त्री चौधरीले बताए।

यसैबीच प्रदेश सरकारले पत्रकारको कोरोना बिमाका लागि नेपाल पत्रकार महासंघ प्रदेश ५ लाई पहिलो चरणको किस्तास्वरुप चार लाख ९८ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ। प्रतिव्यक्ति ६०० का दरले हुने गरी सो बराबरको रकम महासंघलाई उपलब्ध गराइने प्रवक्ता चौधरीले जानकारी गराए।

शुक्रबार नै बसेको मन्त्रिपरिषद् बैठकले पूर्वाधार विकास प्राधिकरणको स्थापना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्नुका साथै प्रदेश विश्वविद्यालय स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन गर्न बनेको विधेयकलाई प्रदेशसभामा पेस गर्नका लागि स्वीकृति प्रदान गरेको छ। 

यस्तै, बुटवल टेक्निकल इन्स्टिच्युटलले प्राविधिक शिक्षा प्रदान गर्नका लागि योगदान पु¥याएको उल्लेख गर्दै प्रदेश सरकारले १० लाख रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ । सरकारले गत वर्ष पनि इन्स्टिच्युटलाई १० लाख रुपैयाँ अनुदान प्रदान गरेको थियो।

थाहा खबरबाट

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार