
दाङ : अज्ञात समूहको सांघातिक आक्रमणबाट गम्भिर घाईते भएका शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष फर्साराम डाँगीलाई थप उपचारको लागी हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ । मंगलबार विहान कबिर पौने १२ बजेतिर ४/५ अज्ञात समूहले कार्यकक्ष मै सांघातिक आक्रमण गर्दा डाँगीको टाउको, खुट्टा हातमा गम्भिर चोट लागेको छ ।
मनाङ्ग एयरको ९ एन—एएनजे मार्फत काठमान्डौँको हेम्स अस्पतालमा थप उपचारका लागि लगिएको गाउँपालिका अध्यक्ष कमानसिङ डाँगीले जानकारी दिए । उनलाई पौने ५ बजे तुलसीपुरको अरनीको मैदानमा अवतरण गरिएको हेलिकप्टर मार्फत काठमान्डौँ लगिएको हो । त्यसैगरी गाउँपालिका अध्यक्ष डाँगीले घटनाको निन्दा र घोर भत्र्सना गर्दै तत्काल आक्रमणकारीलाई पक्राउ गरि कानुनी कठघरामा उभ्याउन माग गरेका छन् ।

उनले जनप्रतिनिधी कार्यकक्ष मै गएर आक्रमण गर्नु नितान्त दुत्साहित पूर्ण काम भएको समेत बताए । ‘ यदि वडाध्यक्षले कुनैपनि गल्ति गरेको भए बोलाएर चेतावनी दिनु पर्दथ्यो,’उनले भने ,‘ तर एक्कासी कार्यकक्ष मै आई आक्रमण गर्दा आफुहरुलाई राज्य नै नभएको अनुभव भएको छ । यदि कुनै पनि राजनितिक दलले यस्तो कार्य गर्दछ, भने यो भोली सबैका लागी घातक हुन्छ ।’ त्यसैगरी प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल सहित जिल्लाका सुरक्षाकर्मीको टोली शान्तीनगर गाउँपालिका वडा नम्वर २ सिमसुन्दरपुर स्थित वडा कार्यायलमै टोली घटना स्थल पुगेर अध्ययन गरेको हो ।
यता सरकारद्धारा प्रतिवन्धित विप्लव नेतृत्व नेकपाले वडाध्यक्ष डाँगी माथि जनकारवाही गरेको जनाएको छ । नेकपाका सेक्रेटरी कमल सिंहद्धारा जारी विज्ञप्तीमा वडाध्यक्ष डाँगी माथी जनकारवाही गरेको उल्लेख गरिएको छ । विज्ञप्तीमा वडाध्यक्ष डाँगीले वडा कार्यालयमा आफुखुसी आफना मान्छे राखेको, विकास निर्माणमा ढिलासुस्ती गरेको, नागरिक माथी दमन र कुटपिट गरेको लगाएतका आरोप लगाईएको छ ।

यता वडाध्यक्ष डाँगीमाथि कार्यकक्षमै भएको आक्रमणको नेपाली काँग्रेस दाङले निन्दा एवं भत्र्सना गरेको छ । घाइते डाँगीको अवस्था बुझ्न राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुगेका काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरि कारवाही गर्न माग गरे । कार्यकक्षमै जनप्रतिनिधिमाथि भएकोआक्रमणको जति निन्दा र भत्र्सना गरेपनि नपुग्ने उनले बताए । जनप्रतिनिधिमाथि वडा कार्यालय भित्रै भएको आक्रमणले सरकार छ ,कि छैन ? भन्ने प्रश्न खडा भएको समेत बताए ।