युवाहरुले क्वारेन्टाइनमा बसेका ब्यक्तिलाई सकारात्मक सन्देश दिदै

Author Logo..
अनलाइन राप्ती २०७७ असार १६ गते मङ्गलवार


दाङ : दाङमा क्वारेन्टाइनमा बसेका ब्यक्तिहरुलाई हौषला बढाउन तथा सकारात्मक सन्देश दिएको लागी यहाँका युवाहरुले फरक तरिकाले सचेतना गराउन थालेका छन् । लामो समय सम्म क्वारेन्टाइनमा बस्दा उनीहरुको मनमा निराशा पन उत्पन्न हुने र कुनै पनि दुर्घटना हुन सक्ने भएकाले तुलसीपुरमा रहेको युवा संसदको अगुवाइमा ११ जना युवाहरुले क्वारेन्टाइनहरुमा बसेका ब्यक्तिहरुलाई नाटक तथा नृत्यबाट सकारात्मक सन्देश दिन लागेका छन् ।

क्वारेन्टाइनमा बसेका ब्यक्तिहरुलाई स्वास्थ्यकर्मी , जनप्रतिनिधीहरु लगाएतकाले सल्लाह सुझाव दिदै आएको भएता पनि धेरै सयम सम्म क्वारेन्टाइनमा बस्दा उनीहरुको मनोवल घट्ने ,डिप्रेशनमा जाने र आत्महत्या गर्ने जस्ता घटनाहरुहरु हुने भएकाले युवाहरुले नाटक तथा नृत्य गराउँदै थोरै भएपनि केहि सकारात्मक सन्देश दिनका लागि यो अभियान शुरु गरेको नमुना युवा साँसद सदस्य गणेश भन्डारीले बताए ।

कोरोनाको रोकथामका लागि क्वारेन्टाइनमा बसेकाहरुको मनोबल बृद्धि गरी स्वास्थ्य सुरक्षा, स्वास्थ्य सजकता, मानसिक विचलनमा रोक र विविध विषय लगाएत कोरोनाविरुद्ध आत्मबल बढाऔँ, कोरोना भगाउ भनि सचेत गराउने उद्देश्यले यो अभियान संचालन गरेको र सुरुवातमा दाङको तुलसीपुर रहेको १० वटा क्वारेन्टाइनमा यो अभियान गर्ने र बिस्तारै जिल्ला भरी जाने अर्कि सदस्य ईशा वलीले बताईन ।

उनीहरुले नाटकमा स्वास्थ्यकर्मीहरुबाट पनि कमीकम्जोरी हुने र डिप्रेशनका कारण आत्महत्या पनि गरीएको देखाउने गरेका छन् । यस्ता कम्जोरीलाई खवरदारी गर्दै सकारात्मक सन्देश दिने गरीएको छ । यस्तो कार्य दाङमा पहिलो पटक क्वारेन्टाइनमा बसेकाहरुका लागि फरक तरिकाले सचेत गराउने प्रयास गरेको नमुना युवा संसद तुलसीपुरका राष्ट्रपति मदन भुसालले बताए त्यसैगरी युवाहरुको यो अभियानले आफुहरुलाई धेरै मनोरञ्जन तथा सन्देश दिएको भन्दै जिल्लाका सबै क्वारेन्टाइनमा यो गर्नु पर्ने क्वारेन्टाइनमा बसेकाहरुको भनाई छ ।

युवाहरुले देखाएको नाटक हेर्न पाउँदा धेरै खुशी भएको र राम्रो सन्देश पाएको तुलसीपुरमा क्वारेन्टाइनमा बसेका तुलसीपुर ५ का माधव केसीले बताए । दाङमा सोमवार सम्म १५ सय ६८ जना जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार