काठमाडौँ : भारत हुँदै सलहको एउटा बथान नेपाल छिरेको छ । बारा जिल्लामा सलहको सानो झुण्ड देखिएको कृषी मन्त्रालय स्रोतले जनाएको छ ।
भारतको बिहार हुँदै सलहको समूह नेपाल प्रवेश गरेको हो । सलह नेपाल प्रवेश गरेसँगै यसले पुर्याउन सक्ने क्षति न्यूनिकरण गर्ने विषयमा छलफल गर्न कृषि मन्त्रालयले शनिबार आकस्मिक रुपमा बैठक बोलाएको छ ।
‘कृषि विकासका स्थानीय अधिकारीहरुले हामीलाई सर्लाही र बारामा केही दिनदेखि सलहको बथान देखिएको जानकारी गराउनु भएको छ’, कृषि मन्त्रालयका एक अधिकारीले भने, ‘तर कति ठूलो समूहमा आएको हो भन्ने पूर्ण जानकारी आइसकेको छैन ।’
उनले बाराको निजगढ र सर्लाहीको नवलपुर आसपास क्षेत्रमा सलहको बथान देखिएको जानकारी आएको बताए । पूर्व अफ्रिकाबाट शुरु भएको सलहको प्रकोप मध्यपूर्व हुँदै केही साताअघि पाकिस्तान र भारत आइपुगेको थियो, जसले अन्नबालीमा ठूलो क्षति पुर्याएको छ ।
सलह भारतको उत्तर प्रदेशमा आइपुगेपछि नै नेपालको कृषि मन्त्रालयले क्षति न्युनिकरण गर्न समिति गठन गरेको थियो । सलह फट्याङग्राहरूको ठूलो बथान हो, जसको प्रकोपले गहुँ, तोरी, कपास, मकै लगायत खाधान्न बालीमा क्षति पुर्याउँछ । नेपालमा यसले पुर्याउन सक्ने क्षतिबारे कृषि मन्त्रालयले थप अध्ययन गरिरहेको छ । हावाको दिशा पछ्याएर १ सय ३० किमिसम्म समूह बनाएर उड्ने यी किराको बथानमामा ४ देखि ८ करोड सम्मको संख्या हुने कृषि वैज्ञानिकहरू बताउँछन् ।