
सल्यान : सल्यानको छत्रेश्वरी गाउँपालिकाले ४२ करोड बढीको बजेट विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष सन्तोष केसीले ४२ करोड ७२ लाख ८० हजार ९ सय रूपैयाँको अनुमानित बजेट पेस गरेका छन् ।
छत्रेश्वरीको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत आठौं गाउँसभामा नीति तथा बजेट प्रस्तुत गर्दै अध्यक्ष केसीले उक्त बजेट पेश गरेका हुन् ।
गाउँपालिका उपाध्यक्ष सीता केसीको स्वागत मन्तब्यबाट सुरू भएको गाउँसभा तथा नीति तथा कार्यक्रममा अध्यक्ष केसीले संघीय सरकारको बजेट वित्तीय समानीकरण अनुदानतर्फ ९ करोड १९ लाख, सशर्त अनुदानअन्तर्गत १८ करोड २३ लाख,
राजस्व बाँडफाँड ७ करोड २९ लाख ३५ हजार ९ सय, विशेष अनुदान ३ करोड, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ९९ लाख ४२ हजार, राजस्व बाँडफाँड ६ लाख ८३ हजार, गत आर्थिक बर्षको बचत ३ करोड ५० लाख र आन्तरिक आम्दानी गरी ४५ लाख २० हजार गरी उक्त अनुमानित बजेट प्रस्तुत भएको छ ।
कोरोनाभाइरस (कोभिड–१९) का कारण संक्रमण अझै फैलन सक्ने भन्दै विशेष कार्यक्रम पेश गरिएको छ । सातै वडामा एम्बुलेन्स राख्ने ब्यवस्था अनुरूप थप तीनवटा एम्बुलेन्स खरिद गरिने कार्यक्रममा समेटिएको छ । बर्थिङ सेन्टर, ल्याव सञ्चालन, क्वारेन्टाइन विशेष कार्यक्रमहरू समावेश गरिएका छन् ।
त्यसैगरी सल्यानको शारदा नगरपालिकाको सातौ नगरसभा बुधबार भएको छ । आगामी आर्थिक वर्ष ०७७/७८ को लागि कुल ४९ करोड ९९ लाख १२ हजार रूपैयाँ बजेट प्रस्तावसहित सातौ नगरसभा सम्पन्न भएको हो । नगरसभाले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ ।
नगरसभाको उद्घाटन गर्दै नगर प्रमुख सुरेश अधिकारीले नगरपालिकाको मुहार समृद्ध बनाउनको लागि आफ्नो स्रोत र साधनको प्रयोग गर्दै अगाडी बढिरहेको जानकारी दिए ।
नगर प्रमुख अधिकारीले विश्वब्यापी महामारी कोरोना रोगको प्रभावलाई समुदायमा फैलिन नदिन शारदा नगरबासीको सु–स्वास्थ्यलाई ध्यानमा राखी उक्त प्रकोपको नियन्त्रणको ब्यवस्थापन गर्ने पक्षलाई प्राथमिकता राखिएको बताए । ‘समृद्ध समुन्नत तथा विकसित शारदा नगर, सक्षम नगरबासी’ भन्ने मुल लक्ष्यका बजेट आएको नगरप्रमुख अधिकारी जानकारी दिए ।
नगरपालिकाले ०७७÷७८ का लागि अनुमानित आयतर्फ संघीय र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण १२ करोड ८४ लाख, संघीय राजस्व बाँडफाँडबाट प्राप्त हुने बजेट ९ करोड २८ लाख र संघीय सशर्त अनुदान र आन्तरिक श्रोत गरी २७ करोड ८६ लाख रूपैयाँको बजेट शारदा नगरपालिकाको उपप्रमुख सावित्रा बस्नेतले प्रस्तुत गरिन् ।
नगरपालिकाले यो आर्थिक वर्षमा सबैभन्दा बढी स्वास्थ्यमा २ करोड, पूर्वाधारमा २ करोड, कृषिमा १ करोड ५० लाख, शिक्षामा १ करोड ५० लाख छुट्याएको छ भने श्रीनगर आधुनिक बसपार्कको लागि ५० लाख छुट्याएको छ, यो समाचार प्रदेश टुडे राष्ट्रिय दैनिकमा छापिएको छ ।