दाङ, दाङमा बुधवार थप एक जना वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमित हुने जनप्रतिनिधिको संख्या ४ पुगेको छ । बंगलाचुली गाउँपालिकाका ३ जना र घोराहीमा १ जनप्रतिनिधीमा कोरोना पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बुधवार कोरोना परिक्षण गर्दा बंगलाचुली गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष मेघराज रानालाई कोरोना पुष्टि भएको हो। यस अघि सोहि गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष यनुराज खत्री र वडा नम्वर ६ का वडा सदस्य चित्र बहादुर डाँगीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तैगरी घोराही उपमहानगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष केशवराज आचार्यमा पनि यस अघि नै कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरी वडा नं. ५ का वडाध्यक्ष कोरोना जितेर केही दिन अगाडी डिस्चार्ज भएको गाउँपालिकाका स्वास्थ्य प्रमुख भक्त बहादुर जिसीले जानकारी दिए । अहिले सम्म गाउँपालिकामा १३१ जनालाई कोरोना पुष्टि भएको र ति मध्य २१ जना डिस्चार्ज भएको समेत उनले बताए ।
अहिले गाउँपालिकामा कोरोना पुष्टि भएका जनप्रतिनिधी र स्वास्थ्यकर्मी बाहेक अन्य ब्यक्तिहरु भारतबाट आएका र क्वारेन्टाइनमा बसेका हुन् । कोरोना संक्रमण भएका केही ब्यक्ति कोरोना बिशेष अस्पताल बेलझुण्डी, केही गाउँपालिकाको आईसोलेसन र जिल्ला विपद् ब्यवस्थापन समितीले बनाएको आईसोलेसनमा रहेको र उनीहरु सबैको स्वाथ्य अवस्था सामान्य रहेको स्वास्थ्य प्रमुख जिसीले बताए ।
दाङमा बुधवार मात्रै ७६ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । ति मध्य बंगलाचुलीमा ४२ र घोराहीमा ७६ जना हुन् । यो संगै जिल्लामा अहिले सम्म ३८० कोरोना संक्रमितको सख्या पुगेको छ, भने ८९ जना संक्रमितहरु डिस्जार्च भएको स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिए । जिल्लाका १० वटै स्थानियतहले बनाएका क्वारेन्टाइनमा बुधवार सम्म ३ हजार ४९५ जना बसेका छन्, भने २ हजार १८६ जनाको स्वाब परिक्षणको क्रममा रहेका स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।