
घोराही : ‘मुख्य बाटोमा खाल्डैखाल्डो छन्, भएका नाला भत्काएर झनै सास्ती । यो वर्षामा के को विकास हो ?’ तुलसीपुरबाट घोराही आउने क्रममा घोराहीको डिके पेट्रोलपम्प नजिकै भएको खाल्डाको पानीले छ्यापिएपछि एक कर्मचारीले आक्रोसित हुँदै भने ।
‘पानी परिरहेको छ सडकको खाल्डाखुल्डी एक टिप्पर बालुवा लिएर पूरे पनि धेरै राहत हुने थियो’ उनी बरबराए । ‘खाल्डो एकातिर छ, अर्को केही नभएका नाला भत्काएर आवतजावत गर्नमै समस्या छ’ उनले भने ‘वर्षाको समयमा नै विकास निर्माण गर्न जरूरी छ र ?’
वर्षाको समयमा पानीले विकास निर्माणको काम गर्न साथ नदिएको अवस्थामा काम चलाउ अवस्थामा रहेका बाटोहरू भत्काउनु ठिक नभएको उनले बताए ।
‘म विकास विरोधी होइन् तर यो वर्षामा गरिने विकास निर्माण चित्त बुझेको छैन’ नारायणपुरका नविन केसीले भने ।
पानी परिरहेको अवस्थामा पनि सडक पिचको कामलाई तिव्र दिईरहेको अवस्थामा आश्चर्य लाग्छ । ‘यस्तो पानी परिरहेको अवस्थामा गरिने विकास निर्माणका कामहरू कति गुणस्तर होलान् ?’ उनले भने ‘के यो पानीको समयमा पनि काम सक्नै पर्छ र ?’
आर्थिक मसान्त सकिन २३ दिन मात्रै बाँकी रहदा दाङमा धमाधम विकास निर्माणका कामहरू शुरू भएका छन् । नाला खन्नेदेखि सडक फराकिलो बनाउने, नयाँ ट्रयाक खोल्ने र विशेषगरी सडकमा कालोपत्रे गर्ने काम धमाधम भईरहेको छ । त्यो नि असार मसान्तभित्रै विकास निर्माणका काम सकिने गरी काम धमाधम शुरू भएको छ ।
जिल्ला अनुगमन तथा समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीले विकास निर्माणको काम धमाधम भईरहेको बताउँछन् । ‘हामीले जिल्लामा ढुंगा गिट्टी, बालुवा उत्खनन्सँगै विकास निर्माणको पनि अनुगमन गरेका छौं’ उनले भने ‘आर्थिक वर्ष सकिनै लाग्या छ, काम धमाधम भएका छन् ।’
बजेट छुट्याएका क्षेत्रमा यो आर्थिक वर्षभित्र काम गरेर रै सक्नुपर्ने उनले वताए । ‘अब धेरै दिन छैन् आर्थिक वर्ष सकिन’ उनले भने ‘काम सक्नैपर्छ नत्र बजेट फ्रिज भएर जान्छ ।’
प्रायः विकास निर्माणका कामहरू असार मसान्तसम्म सम्पन्न हुने उनले बताए । बजेट विनियोजनदेखि टेण्डर खोल्दासम्म र सम्झौता गर्दा समय लाग्ने उनको भनाई छ ।
यो समाचार प्रदेश टुडे पत्रिकामा छापिएको छ ।