घोराही : कोरोना जोखिमलाई मध्यनगर गर्दै दाङको घोराही उपमहानगरले रेडियो मार्फत विद्यार्थीलाई पढाउन शुरु गरेको छ । उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले घोराहीका ४ वटा एफएम रेडियो मार्फत आइतवार देखी विद्यार्थीहरुलाई पढाउन थालेको हो । रेडियो मध्यपश्चिम, रेडियो स्वर्गद्धारी, रेडियो इन्द्रेणि र रेडियो झरनाबाट कक्षा ४ देखी १० सम्मका विद्यार्थीहरुलाई दैनिक ३ घण्टा पढाउने व्यवस्था मिलाएको शिक्षा महाशाखाले जनाएको छ ।
कोरोना संक्रमण रोकथाममा विद्यालयलाई क्वारेन्टाईन बनाउनु परेको र यो अबस्थामा विद्यालय सञ्चालन समेत गर्न नसकिने हुदाँ रेडियो मार्फत बालबालिकालाई पढाउने व्यवस्था मिलाएको महाशाखा प्रमुख विनोद गौतमले जानकारी दिए । दैनिक आधा घण्टा एउटा विषयको बारेमा विषयगत शिक्षकले पढाउने व्यवस्था मिलाईएको छ ।
लामो समय सम्म विद्यालय बन्द रहदाँ बालबालिकाको ध्यान अनेत्र जाने र पढाईमा गम्भिर असर पर्ने भएका कारण रेडियो र टेलिभिजन मार्फत भए पनि विद्यार्थीहरुलाई पढाई प्रति आकर्षित गर्ने सरकारले योजना ल्याएको हो । अबको एक महिना मध्यान्न १२ बजे देखी दिउसो ३ बजे सम्म रेडियोबाट पढाउने समय तालिका निर्धारण गरिएको छ ।
विद्यायलयहरुले बालबालिकालाई पाठ्यपुस्तक बितरण गरिसकेको र घरमै रेडियो सुनेर विषयगत ज्ञान लिने अपेक्षाका साथ रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरिएको महाशाखाका शाखा अधिकृत नारायण पौडेलले जानकारी दिए ।