काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विहीबारसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । नेपालको पूर्वी र मध्य भू-भागमा मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभावका कारण वर्षा भइरहेको महाशाखाले जानकारी दिएको हो ।
महाशाखाले मंगलबार देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको हुँदा सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका अनुसार मुलुकका धेरै ठाउँमा सोमबार राति नै वर्षा भइरहेको छ भने आज दिनभर वर्षाको सम्भावना छ।
देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । ती क्षेत्रका नदीमा पानीको बहाब बढ्ने महाशाखाले जनाएको छ ।
लगातार वर्षाको सम्भावना रहेको हुँदा नदीमा पानीको वहाव बढ्ने , पहिरो जाने र सडक तथा हवाई यातायात समेत प्रभावित हुने सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाले अनुरोध गरेको छ ।