काठमाडौं : आइतवार एकै दिन ४ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारेको जानकारी दिएका हुन्। गौतमका अनुसार कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या पनि ७३ पुगेको छ।
नयाँ संक्रमितमध्ये ५० जना महिला र ३७५ जना पुरुष रहेका छन्। पछिल्लो पटक रुकुम पूर्वमा पनि कोरोना संक्रमित भेटिएका छन्। नेपालमा आइतवारसम्म संक्रमितको संख्या पनि बढेर ५ हजार ७६० पुगेको छ। जसमा महिला ४३६ जना छन् भने पुरुष ५ हजार ३२४ जना रहेका छन्।
त्यसैगरि निको भएर घर फर्किनेको संख्या पनि बढिरहेको छ। आइतवारसम्ममा ९७४ जना संक्रमित कोरोना निको भएपछि घर फर्किएका गौतमले बताए। निको हुनेमा महिला ९७ जना र पुरुष ८७७ जना रहेका छन्। पछिल्लो २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन्।
जसमा महिला ६ जना र पुरुष ५५ जना छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १९ पुगेको छ। पछिल्लो पटक गुल्मीको रेसुंगा नगरपालिकास्थित आइसोलेसनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको शनिबार राति १० बजे मृत्यु भएको हो।
रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालका अनुसार उनमा जेठ १२ कोरोना संक्रमण पुष्टि भएसँगै रेसुंगा नगरपालिकाको आइसोलेशनमा राखेर उपचार गरिएको थियो। उनी २ वर्षदेखि क्यान्सर रोगले पीडित थिए।