कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टरमा उपचार सुरु

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ३० गते शुक्रवार


तिर्थराज ज्ञवाली

देउखुरी दाङ : कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टरमा कोरोना संक्रमितहरुलाई शुक्रवार बाट राख्न सुरु गरिएको छ । देउखुरी उपत्यका अन्तरगतका ४ पालिकाहरुको संयुक्त पहलमा कोरोना संक्रमितहरुलाई राख्नको लागि राप्ती गाउँपालिकाको मौरीघाट स्थित राप्ती प्राविधिक शिक्षालयमा आइसोलेसन सेन्टर निर्माण गरिएको थियो ।

शुक्रवार राप्ती गाउँपालिका वडा नं १ , ३ र ४ नं वडाका ५ जना पुरुष तथा १ जना महिलालाई उक्त आईसोलेसन सेन्टरमा ल्याई राखीएको छ । संक्रमित राख्नु पुर्व राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले सेन्टरको अवस्था, राखीएकाको लागि बस्न, खानको ब्यवस्था लगाएतका विषयमा स्थलगत अनुगमन समेत गरेका थिए ।

उक्त सेन्टरमा राखीएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र कुनै शारिरीक समस्या नरहेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए । उनीहरु ६ जना नै भारतबाट आएको र स्थानिय नव प्रतिभा क्वारेन्टाइन र सिरीचौर क्वारेन्टाइनमा बस्दै आएका थिए ।

यसै विच राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी तथा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी ले कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टरमा राखिएका ६ जना कोरोना संक्रमितहरुलाई हतोत्साहित नहुन, नियमानुसार आईसुलेसनमा बस्न अनुरोध गर्दै कुनै ब्यवस्थापकिय तथा स्वास्थ्यको समस्या आएमा तत्काल जानकारी गराउन समेत गरेका छन् ।

उपस्थित तिनै अध्यक्षहरुले आम नागरिकलाई कोरोना संक्रमण वाट बच्नका लागि आवस्यक सावधानी अपनाउन समेत अनुरोध गरेका थिए । आइसोलेसन वार्डको सञ्चालन संगै संक्रमितको स्वास्थ्य उपचारमा प्रथम चरणमा खटि संक्रमितको सेवा तथा स्वास्थ्य उपचार गर्न राप्ती गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई जिम्मेवारी प्रदान गरिएको छ ।

उपचार, ब्यवस्थापन, सञ्चालन, कार्यन्वयन सुरक्षा तहमा रहनुहुने सबैको मनोवल उच्च राख्दै कोरोना संक्रमीतको स्वास्थ्य लाभको लागि सबैले कामना गर्न समेत सबैमा पालिकाहरुले अनुरोध गरेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए । सेन्टरमा देउखुरी क्षेत्रमा रहेका चार ओटा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मी परिचालन गरेर उपचारको प्रवन्ध मिलाइएको छ भने नेपाली सेनाले सुरक्षा दिने काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार