दाङ : लकडाउनको समयमा अनाधिकृत रुपमा दाङका खोलाको दोहन भएको छ । राप्ती नदी,बबई,ग्वारखोला,पातुखोला लगायत दर्जन बढी खोलामा अबैद्य रुपमा नदीजन्य बस्तुको उत्खनन् भएको छ ।
नदिजन्य बस्तुको अबैद्य उत्खनन्मा दाङका केही जनप्रतिनिधिहरुकै मिलेमतो रहेको स्थानीयहरुले आरोप समेत लगाई रहेका छन ।
दंगीशरण गाउँपालिका ६ र २ मा थपगाउँ क्षेत्रमा रहेको बबई नदीमा अनाधीकृत रुपमा उत्खन हुदा गत वर्ष बनाईएको १० करोडको तटबन्ध समेत संकटमा परेको छ ।
तटबन्ध नजिकैबाट र नदीको बीचबाट अनाधिकृत रुपमा गरिएको उत्खननले सयौँ विगाह खेती योग्य जमिन र तटबन्ध संकटमा परेको भन्दै स्थानीयहरुले उत्खननको विरोध गरेका छन । जनप्रतिनिधिहरुकै अगुवाईमा नदी ,खोलाको दोहन भइरहेको स्थानीय गोविन्द आचार्यले बताए ।
स्थानियका अनुसार उत्खनन क्षेत्रमा दैनिक दुई वटा स्काभेटर, ७ वटा टिप्पर र ३ वटा टेक्टरले दिन रात उत्खनन गरिरहेका छन । त्यो क्षेत्रमा दुई सय विगाह खेती योग्य जमिन रहेको छ । यहाँबाट दैनिक १ लाख ४० हजार सम्म राजस्व ठेकेदारहरुले संकलन गर्ने गरेको स्थानीयको भनाई छ । विकास निर्माणमा प्रयोग गर्ने गाउँपालिकाले भने पनि अहिले क्रसर उद्योगमा निकासी हुने गरेको स्थानीयहरुको भनाई छ ।
तुलसीपुर उपमहानगरपालिकाको ग्वार खोला क्षेत्रमा पनि अनाधिकृत रुपमा उत्खनन भइरहेको छ । स्थानियहरुको विरोध हुँदाहुँदै नियम विपरीत नदिजन्य बस्तुको उत्खनन गरिएको छ ।
तुलसीपुरका हरीपौरी, हरीपौरा, रझेनी, गनारी, बाँसबोट गरी ५ गाउँका किसानले प्रयोग गर्दै आएको चनक्के सिंचाइ कुलोको मुहानमै फोरलेन सडक निर्माण कम्पनीले अवैधरुपमा उत्खनन गरिरहेको छ ।
यसमा पनि तुलसीपुर उपमहानगपालिकाका जनप्रतिनिधिहरुकै संरक्षणमा जवरजस्ती उत्खनन भइरहेको किसानहरुले दावी गर्दै आएका छन । यहि विषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत तुलसीपुरउपमहानगरपालिकाका कागज जात नियन्त्रणमा लिएको छ ।
यता प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले गैरकानुनी काम गर्नेलाई कारवाही गर्ने बताए । अनाधिकृत रुपमा कहि कतै नदीजन्य बस्तुको उत्खनन भएमा त्यसलाई रोकिने र त्यस्ता गतिबिधि गर्नेलाई कानूनी दायरामा ल्याईने उनले बताए