साहुलाई गलत कुरा लगाएपछि मदिरामा गाँजा मिसाएर हत्या

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २८ गते बुधवार

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनिहवामा पाँच व्यक्तिको हत्याअघि नशालु वस्तु खुवाइएको खुलेको छ। प्रहरी अनुसन्धान र अभियुक्तको बयानले नशालु वस्तु खुवाएर लठ्ठपारी हत्या गरेको खुलेको हो।

गंगादेवी गाई फर्ममा त्यही काम गर्ने तीन जना र गाउँका दुई युवाको सोमबार राति हत्या भएको थियो। मृतकमध्ये दुई श्रीमान/श्रीमती हुन्। फर्ममै काम गर्ने सुर्खेत लेकबेसी नगरपालिका घर भएका ३१ वर्षीया झसेन्द्रबहादुर सिंजालीले हत्या गरेको प्रहरीले जनाएको थियो। उनले मंगलबार नै हत्याको स्वीकार गरेका थिए। तर उनी आफै नशामा लठ्ठ भएका कारण प्रहरीले थप सोधपुछ गर्न सकेको थिएन।

सिंजालीले आफ्नो गाली बेइज्यती गरेको रिसइबीमै हत्या गरेको स्वीकारेका छन्। हत्याअघि फर्ममा रहेका ८ जनामध्ये पाँच जनालाई मदिरामा गाँजा मिसाएर खुवाएको उनले बताए। गाँजा मिसिएको मदिरा खाएपछि लठ्ठिएका उनीहरुलाई फरुवाले हानेर हत्या गरेको बयानमा बताएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट मदिराका बोतल बरामद गरेको थियो।

आफूविरुद्ध पशु गमन गरेको भन्ने आरोप लगाएकोमा सिंजाली रुष्ट थिए। मुसहर दम्पत्तीसहित अन्यले पैसा ठग्ने गरेको भन्दै साहुसँग गलत कुरा लगाएको बयान सिंजालीले दिएका छन्। अनुसन्धानमा खटिएका वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार वैदवारले दुई महिनादेखि श्रीमती हराएको तनावसहितका तीन कारणले हत्या गरेको बताए। ‘आफै तनावमा रहेको र रिसइबी साध्न हत्या गरेको देखिएको छ’ उनले भने।

गाईफर्ममा दुई वर्षदेखि काम गर्दै आएका रुपन्देही सैनामैना नगरपालिका-५ दरखासीका ४० वर्षीया माधव मुसहर र उनकी श्रमीती ३७ वर्षीया जानकी मुसहरको मृत्यु भएको छ। फर्ममै काम गर्ने १६ वर्षीया रमेश भनिने पोखराज मुसहर, तिलोत्तमाकै दुई युवा १५ वर्षीया करण थारु र १६ वर्षीया आशिष चौधरीको हत्या भएको हो। करण र आशिष साथी पोखराजसँगै बस्न आएका थिए। सिंजालीले मुसहर दम्पत्तीसहित तीन युवा लक्षित गरेर हत्या योजना बुनेका थिए।

मदिरा खाएर सुतेका उनीहरुमाथी शुरुमा लठ्ठी प्रहार गरेको उनले बयान दिएका छन्। लठ्ठी प्रहारबाट अचेत भएपछि फरुवाको बिँडले हानेर हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी अभियुक्तलाई सार्वजनिक गरेको छ।

साभार : अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार