तिर्थराज ज्ञवाली,
देउखुरी दाङ : दाङको राप्ती गाउँपालिका स्थीत राप्ती प्राविधिक शिक्षालयमा कोरोना विशेष देउखुरी आईसुलेसन केन्द्र मौरीघाट स्थापना हुने भएको छ । शुक्रवार सरोकारवालाहरुको राप्ती गाउँपालिकाको कार्यालयमा बसेको बैठकले १ सय बेड सहितको कोरोना विशेष देउखुरी आईसुलेसन केन्द्र मौरीघाट स्थापना तथा सञ्चालनको लागि गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा तदर्श समिति समेत गठन गरेको गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए ।
दाङमा कोरोना संक्रमण बढ्दै जानु र विरामी राख्ने स्थानको अभावहुन थालेपछि जिल्लाकै पायक पर्ने र तत्काल ठुला अस्पतालमा विरामी लैजान सहज होस भनि राप्ती गाउँपालिकाको वडा नं ४ स्थीत राप्ती प्राविधिक शिक्षालयमा १ सय वेडको आइसुलेशन कक्ष स्थापनाको कार्य सुरु गरिएको बताईएको छ ।
देउखुरी क्षेत्रका प्रदेश सांसद तथा ४ वटै पालिकाका प्रमुख तथा अध्यक्षहरुको सहभागीता रहेको बैठकले कोरोना विशेष देउखुरी आईसुलेसन केन्द्र मौरीघाटको ब्यवस्थापन तथा सञ्चालनमा पालिकाहरुले खेल्ने भुमिका समेत निर्धारण गरिएको छ ।
कोरोना विशेष देउखुरी आईसुलेसन केन्द्र मौरीघाटका लागि आर्थिक रकम, प्राविधिक पक्ष, मानविय पक्ष तथा सुरक्षागत कुराहरुमा सबैको सहभागीता समेत निर्धारण गरि आगामी २७ गतेसम्म पुर्ण रुपले आईसुलेसन केन्द्र स्थापना गरिने समेत निर्णय गरिएको राप्ती गाउँपालिकाका प्रवक्ता चौधरीले जानकारी दिए ।
नेपाली सेनाको सुरक्षा र व्यवस्थापन रहने, २ जना फिजिसियन चिकित्सक, ४ वटै पालिकाका बाट ८ जना चिकित्सक, ८ जना नर्स, ४ जना ल्याव टेक्नीसीयन र ८ जना कार्यालय सहयोगी सहितको प्रारम्भिक ब्यवस्थापनमा कोरोना विशेष देउखुरी आईसुलेसन केन्द्र मौरीघाट सुरु गरिने छ । साथै थप स्वास्थ्य उपचारको लागि प्रदेश र केन्द्र सरकारबाट समेत समन्वय हुने बताईएको छ ।