दाङ : दाङमा प्रहरीले एम्बुलेन्स सहित ३ जना ब्यक्तिलाई नियन्त्रणमा लिएको छ । विहीबार राती ८ बजेतिर कोहलपुरबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ च ३८९ नम्बरको तुलसीपुर उद्योग वाणिज्य संघको एम्बुलेन्सलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँमा चेकजाँच गर्दा घोराही १५ बडहराका शंकर पुनको साथबाट १६ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर फेला परेपछि एम्बुलेन्स, चालक र एम्बुलेन्समा सवार अन्य २ जना ब्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्नेहरुमा एम्बुलेन्स चालक दंगीशरण गाउँपालिका ६ का २१ बर्षीय तिलक विक, घोराही १५ बडहरा का २३ बर्षीय शंकर पुन र तुलसीपुर उपमहागनरपालिका ५ की १८ बर्षकी दिपा थापा रहेका ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुदख डिएसपी शिब बहादुर सिहले जानकारी दिए । उक्त एम्बुलेन्सलाई सोधपुछ गर्दा पुन नक्कली बिरामी भएको फेला परेपछि उनलाई चेकजाँच गर्दा उक्त परिमाणको लागुऔषध फेला परेपछि उनीहरुलाई नियन्त्रणमा सिलएको प्रहरीले जनाएको छ ।
यस घटनाको बारेमा थप अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको छ । यता तुलसीपुर उद्योग वाणिज्य संघको एम्बुलेन्स लागुऔषध सहित पक्राउ परेको घटनाप्रति संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतले संस्थाले जिम्मा दिएको व्यक्तिले गलत ढँगले एम्बुलेन्स प्रयोग गर्दा संस्थाको वदनामी भएकोप्रति दुःख समेत व्यक्त गरेका छन् ।
‘जनताको सेवा र सुविधाका लागि हामीले एम्बुलेन्स सञ्चालन गरेका हौं यसमा कसैले गलत प्रयोग गरेर हाम्रो वदनामी गरेको छ,’ रावतले भने । उनले घटनाको सत्य तथ्य पत्ता लगाएर सार्वजनिक गर्नका लागि प्रशासन समक्ष अनुरोध गरेका छन ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालनमा रहेको एम्बुलेन्समा नक्कली बिरामी वनेर लागुऔषध ओसारपसार गरिएको घटनाले संस्थाको गरीमामयमा आँच आएको प्रति उनले गम्भिर ध्यानाकर्षण भएको समेत जनाएका छन । दाङको एउटा ब्यापारीक संगठन तुलसीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्स दुरुपयोग हुनु भनेको संस्थाको पराकाष्ठा देखिन्छ ।